Logo

मौकामा चौका होइन, एक्का हान्न तयार छौंः एमाले नेता



काठमाडौं, १ पुस । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रदेश सांसद खगराज अधिकारी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालसँग संवादको ढोका खुला भएको बताएका छन् ।
‘प्रचण्ड र माधव नेपालसँग हाम्रो व्यक्तिगत वैरभाव छैन । हिजो अवैधानिक रुपमा पार्टी फुटाएकाले केही रिजर्भेसन थियो । अब नयाँ परिस्थितिमा संवादको ढोका खुला छ । हामीले अब अरुलाई किन दोष दिने ? आन्तरिक व्यवस्थापनमा केही कमीकमजोरी रहेको मात्र हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले भने ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टी फुटको प्रभाव नपरेको दाबी पनि नेता अधिकारीले गरे । उनले भने, ‘पाँच दलीय गठबन्धनले केपी ओली प्रमुख दुश्मन मानेको थियो । तर सर्वाधिक मत ल्याउने उहाँ नै हुनुभयो । सारा घेराबन्दी हुँदा पनि सबैभन्दा धेरै लोकप्रिय मत ल्याउने एमाले नै भयो । एमालेभन्दा एकदुई सिट भए पनि बढी ल्याउने भन्ने साथीहरु थिए ।’
उनले कांग्रेसलाई सघाउन एमाले तयार रहेको पनि बताए । अधिकारीले भने, ‘हामी सत्ताको लोभी छैनौं । निर्वाचनमा हामीले सरकार बनाउने म्यान्डेट पाएनौं । कांग्रेस र एमाले एक सिक्काको दुई पाटा हौं । चुनौती आउँदा सहमति पनि गरेका छौं । तपाईं निर्धक्क स्थिरता, शान्ति दिनोस्, हामी सत्ताको दाबा गर्दैनौं । बाहिर बसेर पनि सहयोग गर्न सक्छौं भनेका छौं । उसले बनाउन नसक्दा विकल्प दिन तयार छौं । हामी मौकामा चौका होइन, एक्का हान्न तयार छौं ।’
गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने तपाईंको सपना त सबै हुरीले उडायो है भन्ने पत्रकार धमलाको प्रश्नमा अधिकारीले भने, ‘पार्टीले मलाई मुख्यमन्त्री उठाएको होइन, प्रदेशमा उठाएको हो । मैले जितेर आएँ । कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुन्छ भनेर कसले पत्याएको थियो र ? तर म व्यक्तिगत रुपमा खुसी बेखुसी हुनेभन्दा पनि देश दुःखी छ । मुलुकले निकास पाएन ।’



प्रतिक्रिया दिनुहोस्