काठमाडौं, ४ पुष । जनमत पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद डा. सीके राउतले आफूहरु सरकारमा सहभागी हुन सकारात्मक रहेको बताएका छन् । उनले आफूहरुको माग र मुद्दा सम्बोधन गर्ने गठबन्धनलाई नै सरकार गठनमा सहयोग गर्ने बताए ।
आज (सोमबार) निर्वाचन आयोग परिसरमा आयोजित जलपान कार्यक्रममा सहभागी हुने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा राउतले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो पनि सम्वाद विभिन्न गठबन्धनसँग भैरहेको छ । आशा गरौं, सरकार छिट्टै गठन होस ।’ उनले आफूहरुको माग पूरा गर्ने सवालमा जुन गठबन्धनले ठोस प्रतिबद्धता जनाउँछ उसैलाई सहयोग गर्ने बताए ।
उनले आफूहरु देशको विकासको लागि दत्तचित्त भएर लागिपर्ने बताए । उनले सरकार गठनमा सहयोग गर्दा सरकार बनाउने दलसँग ठोस प्रतिबद्धता खोज्ने जनाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम