Logo

तरलता सहज तर लगानी न्यून



काठमाडौं, पुस ५ । छिल्लो समय वित्तीय क्षेत्रमा तरलता केही सहज बनेको छ । मङ्सिर महिनामा निक्षेप सङ्कलनमा आएको सुधार र लगानीमा देखिएको शिथिलताका कारण तरलता केही सहज भएको हो ।

राष्ट्र बैङ्कका अनुसार आइतबारसम्म निक्षेप सङ्कलन ५२ खर्ब ५४ रुपियाँ पुगेको छ । यो एक दिनमै तीन अर्ब रुपियाँले बढेको हो । सोही दिन कर्जा लगानी भने ४७ खर्ब ५९ अर्ब रुपियाँ पुगेको छ । यस आधारमा वित्तीय संस्थाको तरलता चार खर्ब ९५ अर्ब रुपियाँ देखिन्छ ।

आइतबारसम्म कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.८६ प्रतिशत कायम भएको देखिन्छ । मौद्रिक नीतिको प्रावधानअनुसार बैङ्क तथा वित्तीय संस्थाले यो अनुपात ९० प्रतिशतसम्म लैजान सक्छन् । यो आँकडाले वित्तीय क्षेत्रमा निक्षेप सङ्कलन विस्तार भइरहेको देखाउँछ ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार वाणिज्य बैङ्कमा मङ्सिरमा मात्रै ५७ अर्ब २२ करोड रुपियाँ निक्षेप थपिएको छ । नयाँ लगानीको वातावरण आकर्षक नभएको र बैङ्कमा ब्याजदर पनि आकर्षक रहेकाले बचतमा सर्वसाधारण पनि आकर्षित भइरहेको देखिन्छ ।

निक्षेप बढे पनि कर्जा लगानीको अवस्था भने सङ्कुचन भएको छ । मङ्सिरमा दुई अर्ब छ करोड रुपियाँ मात्रै वाणिज्य बैङ्कबाट बाहिरिएको छ । कात्तिकमा यस्तो निकास एक अर्ब २६ करोड रुपियाँ थियो ।

नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार ब्याजदर महँगो भएको र निजी क्षेत्र पनि खुम्चने अवस्थामा पुगेकाले ऋणको माग नै कम भएको हो । आजको गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्