Logo

ओलीको दूत बनेर प्रचण्डलाई प्रधानमन्त्री मनाउन गएको पढ्दा, सुन्दा हाँसो उठ्छः ईश्वर पोखरेल



काठमाडौं, ५ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नभटेको दाबी गरेका छन् ।
‘केपी ओलीको दूत बनेर प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि मनाउन गएको कुरामा कुनै सत्यता छैन । त्यस हिसाबले छलफल भएको पनि छैन । यसबीचमा मैले प्रचण्डलाई भेटेको पनि छैन । यस्ता कुरा पढ्दा, सुन्दा पनि हाँसो उठ्छ । सामान्य कुरालाई किन यसरी उछालिन्छ ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले प्रतिप्रश्न गरे ।
पाँच दलीय गठबन्धनलाई फुटाउन एमाले नलागेको पनि उनले स्पष्टीकरण दिए । पोखरेलले भने, ‘निर्वाचनमा जनताले जुन ठाउँमा बस्न भनेका छन्, एमाले त्यसलाई स्वीकारेर प्रतिपक्षमा बस्छ । हामी गठबन्धन फुटाउन हातमा ह्याम्मर लिएका बसेका छैनौं । आफ्ना कर्म वा कुकर्मका आधारमा गठबन्धनको भविष्य आफैं फैसला हुन्छ ।’
वाम गठबन्धन बन्ने वा वाम सरकार बनाउन एमालेको रुचि नभएको पनि पोखरेलले बताए । उनले थपे, ‘राजनीतिमा सबै सम्भावनाका द्वार खुलै हुन्छन् । नेपालमा जस्तासुकै कटुता र तिक्तता हुँदा पनि संवाद चलिरहन्छन् । तर यस्तो उद्देश्य राखेर हामीले कसैलाई प्रस्ताव गरेका छैनौं । गठबन्धन १०-१५ वर्षसम्म टिकाउँछौं भनेको होइन ? गठबन्धन टिकाए भो, सरकार चलाए भो नि ।’



प्रतिक्रिया दिनुहोस्