Logo

गठबन्धन कायम रहेन भने नयाँ ढंगले राजनीतिक समिकरण मिलाउन छलफल हुन्छ : ईश्वर पोखरेल (भिडिओसहित)



काठमाडौं, ५ पुष । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार गठनको लागि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता नभएको र कुनैपनि निश्कर्षमा नपुगेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सत्ता गठबन्धन कायम नरहे नयाँ ढंगले राजनीतिक समिकरण मिलाउन छफल गरिने स्पष्ट पारे । तर, गठबन्धन कायम रहेको अवस्थामा भने आफूहरुले नयाँ सरकार गठनको लागि कुनै पहल नगर्ने उनको जिकिर छ ।

वाम गठबन्धन बन्ने वा वाम सरकार बनाउन एमालेको रुचि नभएको पनि पोखरेलले बताए । उनले थपे, ‘राजनीतिमा सबै सम्भावनाका द्वार खुलै हुन्छन् । नेपालमा जस्तासुकै कटुता र तिक्तता हुँदा पनि संवाद चलिरहन्छन् । तर यस्तो उद्देश्य राखेर हामीले कसैलाई प्रस्ताव गरेका छैनौं । गठबन्धन १०–१५ वर्षसम्म टिकाउँछौं भनेको होइन ? गठबन्धन टिकाए भो, सरकार चलाए भो नि ।’

उनले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नभटेको दाबी गरेका छन् । ‘केपी ओलीको दूत बनेर प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि मनाउन गएको कुरामा कुनै सत्यता छैन । त्यस हिसाबले छलफल भएको पनि छैन । यसबीचमा मैले प्रचण्डलाई भेटेको पनि छैन । यस्ता कुरा पढ्दा, सुन्दा पनि हाँसो उठ्छ । सामान्य कुरालाई किन यसरी उछालिन्छ ?’–पोखरेलले प्रतिप्रश्न गरे ।

पाँच दलीय गठबन्धनलाई फुटाउन एमाले नलागेको पनि उनले स्पष्टीकरण दिए । पोखरेलले भने, ‘निर्वाचनमा जनताले जुन ठाउँमा बस्न भनेका छन्, एमाले त्यसलाई स्वीकारेर प्रतिपक्षमा बस्छ । हामी गठबन्धन फुटाउन हातमा ह्याम्मर लिएका बसेका छैनौं । आफ्ना कर्म वा कुकर्मका आधारमा गठबन्धनको भविष्य आफैं फैसला हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्