काठमाडौं, पुस ६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् ।
सरकार निर्माणका लागि रस्साकस्सी चलिरहेका बेला एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा प्रशिक्षण कार्यक्रममा ओलीले भने, ‘एमाले राजनीतिक स्थिरताको पक्षमा छ ।
एमालेलाई राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको चिन्ता छ, जनताको भविष्यको चिन्ता छ, गन्तव्यको चिन्ता छ, सत्ता मोलमोलाइको होइन । त्यसैले एमाले सरकार बनाउने अनुचित लेनदेन, भागबन्डा र सेटिङमा सहभागी हुँदैन ।’
ओलीले अनुशासनहीनहरूको बोलवाला बढ्न थालेकाले यसबाट मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने बताए । ‘मुलुकमा राजनीतिक अस्थिरता बढेको छ, अनुशासनहीनता बढेको छ, सामाजिक अवस्था खलबलिएको छ । मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ,’ ओलीले भने ।
एमाले देशमा सबैभन्दा बढी जनताबाट रुचाइएकाले सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भएको उनले बताए । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको छ ।
ओलीले प्रत्यक्ष निर्वाचनतर्फ सत्तापक्षले राज्यसत्ताको दुरूपयोग गरेर, संवैधानिक अंगहरूको दुरूपयोग गरेर एमालेलाई हराएको, पहिलो पार्टी हुन नदिएको दाबी गरे । आजको नागरिक दैनिकबाट