Logo

चार सय दस युवा विदेशमा बेपत्ता



काठमाडौं, पुस ८ । पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको आठ वर्ष भयो । गएको तीन वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए।

नरेश अधिकारीका अनुसार विनोदले मलेसियाको पाँचतारे होटलमा काम गर्न थालेकाले कमाइ राम्रै थियो । उनले तीन वर्षसम्म मासिक ५० हजार रुपैयाँका दरले पैसा पठाए। दाजु नरेश अधिकारीले भने, “भाइको खोजीका लागि श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, दूतावास धेरैतिर हारगुहार गरियो तर अहिलेसम्म केही खबर पाएका छैनौँ ।”

विनोदजस्तै वैदेशिक रोजगारीकै सिलसिलामा परिवारको सम्पर्कविहीन भएका नेपाली युवाको सङ्ख्या धेरै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्खर सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार गएको तीन वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ३१ जना महिलासहित ४१० नेपाली श्रमिक विदेशमै बेपत्ता भएका छन् । यो सङ्ख्या आव २०७६/७७ देखि २०७८/७९ सम्म श्रम स्वीकृति लिएर विदेशिएकामध्येको हो ।

सो अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २५४ हराएका छन् भने मलेसियामा १०५ जना हराएका छन् । यसैगरी कुवेतमा ४८ जना, साउदी अरबमा दुई जना र ओमानमा एक जना हराएको सो प्रतिवेदनमा उल्लेख छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्