काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका महिला सांसदहरुले स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै अब बन्ने सरकारको नेतृत्वपनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्नुपर्नेमा जोड दिएका छन् ।
नयाँ सरकार गठनको पूर्व सन्ध्यामा आज (शनिबार) कांग्रेसका महिला सांसदहरुले प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई भेटेर यस्तो आग्रह गरेका हुन् । कांग्रेस महिला सांसदहरु मञ्जु खाँण, चन्दा चौधरीलगायत आधा दर्जन सांसदहरु बालुवाटार पुगेर यस्तो दबाब दिएका हुन् । देउवा नयाँ सरकार गठनको लागि गृहकार्यमा जुटेका छन् ।
उनले आजै कांग्रेस सांसदहरुलाई बालुवाटारमा भेला गराएका छन् । र, नयाँ सरकारको लागि सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । उता, गठबन्धनकै मुख्य घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्वमा दाबी गरेका छन् ।
आज साँझ गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकमा देउवा र दाहालले सहकार्य निरन्तरता दिने वा टुँग्याउने भन्ने विषयमा निर्णायक छलफल गर्ने बुझिएको छ ।