Logo

सत्ता गठबन्धनको बैठक सुरु, केहीबेरमा मन्त्रालय भागबण्डा टुँगो लगाउने



काठमाडौं, ११ पुष । नयाँ बानेश्वरस्थित् संसद् भवनमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आजको बैठकमा दलहरुबीच मन्‍त्रालय बाँडफाँडका विषयमा सहमति हुने जनाईएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ आज अपरान्ह ४ बजे हुँदैछ ।

प्रधानमन्त्री दाहालले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । त्यसको लागि सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका हुन् । सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी छन् ।

त्यसको अलावा तीन जना स्वतन्त्र सांसदले पनि दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । राप्रपाले भने सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन दाहाल–ओली सकारात्मक

राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सो दलका सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुने भएका छन् । स्रोतका अनुसार रविले मागेबमोजिम उपप्रधानमन्त्री दिन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै सकारात्मक बनेका छन् । अहिले बानेश्वरस्थित् संसद् भवनमा सत्ता गठबन्धनको बैठक जारी छ ।

सो बैठकमा मन्त्रालय भागबण्डा लगाउने चर्चा छ । रास्वपाले गृह वा भौतिक मन्त्रालयमध्ये एक दिन आग्रह गरेको छ। गृह र भौतिक मन्त्रालय नपाए शिक्षा, स्वास्थ्य, श्रम, वार्णिज्य–आपूर्ति, श्रमजस्ता मन्त्रालयमा पनि सहमति जनाउन सकिने संकेत गरेको छ। एमालेले भने विष्णु पौडेल र सुवास नेम्वाङमध्ये एकको नेतृत्वमा सरकारमा सहभागिता जनाउने तयारी गरेको छ । उता, माओवादीले भने नारायणकाजी श्रेष्ठलाई पहिलो चरणमा मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ । उनी उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्