पोखरा, पुस १२ । पूर्व अर्थसचिव रामेश्वर खनालले अहिलेभन्दा धेरै मात्रामा पर्यटक ल्याउन सके पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत उठ्न करिब ९ वर्ष लाग्ने बताएका छन् । यो विमानस्थल बनाउन करिब २३ अर्ब रुपैयाँ लागेको छ ।
पोखरामा जारी दसौं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै पूर्वसचिव खनालले अहिलेको अवस्थाबाट माथि उठेर पर्यटक वृद्धि गराएमात्र ९ वर्षमा विमानस्थलको लागत उठाउन सकिने बताए ।
पोखरा विमानस्थलका सबै पूर्वधार नयाँ भएकाले हालसालै बनेको अन्य विमानस्थलको तुलनामा खर्च बढी हुनु स्वाभाविक भएको उनको भनाई छ । पूर्वधार लामो समयलाई सोचेर बनाइने भएकाले आत्तिन नहुँने बताउँदै पूर्वसचिव खनालले सोचेअनुसार पर्यटक आए चिनियाँ ऋण ९ वर्षभित्र उठ्ने दाबीसमेत गरे ।
पोखरामा पर्यटकको संख्या बढाउन अहिले चलिरहेको भन्दा फरक योजना ल्याउनुपर्ने उनको सुझाव थियो । ठूला कम्पनीका सेमिनार, गोष्ठी, छलफलजस्ता कार्यक्रमजस्ता कार्यक्रम पोखरा केन्द्रीत गर्दै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा पनि जोड दिनुपर्ने खनालको सुझाव छ । आजको कारोबार दैनिकबाट