Logo

शेरबहादुर देउवाले पार्टी सभापति र संसदीय दलको नेताको भारी बोक्न सक्नुहुन्न, अब उहाँलाई सम्मानजनक बिदाइ गर्ने बेला भयोः चन्द्र भण्डारी



काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठेको बताएका छन् ।
‘२०७४ मा पनि शेरबहादुर देउवाको नेतृत्वमा सरकार थियो । प्रचण्डको पार्टी सरकारमा सामेल थियो । तर प्रचण्ड केपी ओलीसँग हात मिलाउन गएको देउवाले थाहा नै पाउनु भएन । अहिले पनि सरकारको नेतृत्व नदिए प्रचण्ड बाहिर जानुहुन्छ भन्ने सबैलाई थाहा थियो । तर यो कुरा बुझ्न नसक्दा उहाँको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले बताए ।
प्रधानमन्त्रीका निम्ति गठबन्धन तोड्ने निर्णय कांग्रेसका लागि आत्मघाती भएको पनि उनले औंल्याए । उनले भने, ‘कांग्रेसका निम्ति यो आत्मघाती निर्णय हो । यसबाट शेरबहादुरजीलाई क्षति भएको छ, कांग्रेसलाई क्षति भएको छ । जनतामा पनि निराशा छाएको छ । सबभन्दा महत्त्वपूर्ण कुरा शेरबहादुरजीसँग इन्टलेजेन्सिया नै रहेनछ । उहाँको वरिपरि बस्ने क्षमताविहीन व्यक्तिहरुको झुन्डले सूचना लिनै सक्दो रहेनछ । हाम्रा कारण यस्तो भयो भनेर डिफेन्ड पनि गर्दो रहेनछ । यसको जिम्मेवारी शेरबहादुरजी मात्र होइन, वरिपरि बस्नेहरुले पनि लिनुपर्छ ।’
क्षमताविहीन झुन्डले शेरबहादुर देउवालाई जीवनको उत्तरार्धमा अलोकप्रिय बनाएको पनि उनले बताए । भण्डारीले थपे, ‘यति महत्त्वपूर्ण निर्णय प्रक्रियामा पार्टीका दुई महामन्त्री, उपसभापति, सहमहामन्त्रीहरु कोही पनि सहभागी गराइएनन् । केन्द्रीय समितिको बैठक पनि बोलाइएन । शेरबहादुरको कचौरीले गठबन्धन भनेको त पावर सेयरिङ हो, सभामुख र राष्ट्रपति प्रधानमन्त्रीभन्दा महत्त्वपूर्ण छ भन्ने किन सुझाव दिएन ? जीवनको उत्तरार्धमा शेरबहादुरजीलाई सुशील कोइरालाकै नियति बनाइएको छ ।’ उनले वरिपरि बस्ने झुन्डले आफूलाई केन्द्रीय समितिमा समेत ल्याउन नदिएको आरोप लगाए ।
शेरबहादुर देउवालाई सम्मानजनक बिदाइ गर्ने बेला आएको पनि उनले बताए । भण्डारीले भने, ‘राजीनामा दिनुपर्छ भन्दा पार्टीमा द्वन्द्व होला । उहाँले अब सभापति र संसदीय दलको नेताको भारी बोक्न सक्नुहुन्न । उहाँलाई सम्मानजनक बिदाइ गर्ने बेला भयो । यसबारे केन्द्रीय समितिको बैठकमा छलफल गर्नुपर्छ ।’

 

 



प्रतिक्रिया दिनुहोस्