Logo

बितेका आठ वर्ष सबैभन्दा गर्मी



काठमाडौं, पुस १३ । बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो ।

स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडीको अध्ययनमा आधारित सो प्रतिवेदनअनुसार सन् २०२२ भने यसमा समेटिएको छैन, किनभने वैश्विक तथ्यले यो वर्ष बितेका अन्य वर्षको तुलनामा केही चिसो वर्षका रूपमा गनिएको छ । प्रतिवेदनअनुसार विगत १० वर्षमा कम्तीमा पनि एक डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ ।

सन् १९९३ देखि हालसम्म समुद्री सतहको दोब्बर वृद्धि भएको अर्को नयाँ रेकर्ड अध्ययनमा उल्लेख गरिएको छ । त्यस्तै युरोपेली आल्पस क्षेत्रमा अभूतपूर्व रूपमा हिउँ पग्लने सङ्केत पनि अध्ययनले गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै विश्व मौसम सङ्गठनका प्रमुख पिटर तालासले भने, “जति धेरै गर्मी बढ्यो, त्यति नै खराब असरहरू देखिन्छ ।”

उनका अनुसार अहिले वायुमण्डलमा कार्बनडाइअक्साइडको यति उच्च स्तर छ कि पेरिस सम्झौतामा उल्लिखित १.५ डिग्री सेल्सियसमा त्यो अटाउन्न । बढ्दो तापक्रमका कारण हिमनदी र ताजा पानीको सुरक्षा गर्न ढिलाइ भइसकेको उनले प्रस्ट पारे । यस वर्षको अवस्था विश्लेषण गर्दै उनले चरम गर्मी र खडेरी, मौसम र जलवायुसम्बन्धी प्रकोपका कारण अर्बौं खर्च हुनुका साथै विश्वका लाखौँ मानिस प्रभावित बनेको औँल्याए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्