काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नो पार्टी पुस १९ पछि सरकारमा सामेल हुने बताएका छन् ।
‘हाम्रा पार्टी अध्यक्ष उपेन्द्र यादव आज जनकपुर जाँदै हुनुहुन्छ । मधेस प्रदेशभरिको चुनावी समीक्षा बैठक छ । भोलि संसदीय दलको बैठक छ । पर्सि राजनीतिक समितिको बैठक छ । पार्टीका पूर्वनिर्धारित आन्तरिक काम सम्पन्न भएपछि हामी सरकारसम्बन्धी छलफल गर्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।
सरकारमा जाने मोटामोटी सहमति भए पनि मन्त्रालयको संख्या नतोकिएको पनि उनले बताए । सुमनले थपे, ‘हामीले यतिउति, यो वा त्यो मन्त्रालय भनेर संख्या मागेका छैनौं । कसैले हामीलाई अफर पनि गरेको छैन । यसबारे सिरियस गफ भएको छैन । प्रदेश सरकारमा के हुन्छ ? न्यूनतम साझा कार्यक्रम कस्तो हुन्छ ? मन्त्रिपरिषद्को प्रकृति कस्तो हुन्छ ? यसबारे थप छलफल हुन बाँकी छ ।’ जनतालाई डेलिभरी दिने मन्त्रालय चाहेको उनको भनाइ छ ।
सात प्रदेशमध्ये मधेस प्रदेशको सरकार जसपालाई दिनुपर्ने पनि सुमनले बताए । ‘अहिलेको गठबन्धनमा मधेस प्रदेशमा हामी दोस्रो ठूलो दल छौं । शक्ति सन्तुलनका हिसाबले पनि सात प्रदेशमध्ये एउटा प्रदेश हामीलाई दिनुपर्छ । त्यसमा हामीले जोड दिएका छौं,’ उनले भने ।
फरक प्रसंगमा जसपा नेता सुमनले जसपा छिमेकी भारत र चीन दुवैसँग सुमधुर सम्बन्ध राख्ने पक्षमा रहेको पनि औंल्याए । उनले भने, ‘प्रचण्डको नेतृत्वमा सरकार बन्नासाथ रसुवागढी नाका खुल्यो । केरुङ-काठमाडौं रेलका लागि अध्ययन गर्न चिनियाँ टोली आएको छ । यो स्वागतयोग्य छ । हामी सरकार सरकारबीचको सम्बन्ध राम्रो हुनुपर्छ । हामी भारत र चीनसँग सम्बन्ध राम्रो हुनुपर्छ भन्ने पक्षमा छौं । भारतसँगको सम्बन्ध थप बलियो हुनुपर्छ ।’