हेटौँडा, पुस १३ । बागमती प्रदेशको प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको उम्मेदवारी परेको छ । तामाङ र बानियाँ दुवै संस्थापन पक्षका हुन्।
संसदीय दलको नेताका लागि दरखास्तपछि उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारको दरखास्तमाथि दाबी विरोध, दाबी विरोधमाथि जाँचबुझ र उम्मेदवारको दोश्रो नामावली मध्यान्ह १२ बजे प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
यस्तै, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १ः४५ बजे गर्ने निर्वाचन कार्यक्रम रहेको छ । संसदीय दलको नेताको निर्वाचनका लागि मतदान बुधबार दिउँसो २ बजेबाट ३ बजेसम्म रहेको र मतदानपछि मतगणना गरी मत परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।
२५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट गरी ३७ प्रदेश सभा सदस्य रहेको कांग्रेसको यस प्रदेशमा संस्थापन पक्ष हावी रहेको छ । कांग्रेस केन्द्रीय सदस्य तामाङ नुवाकोट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ (ख) बाट र कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित भएका हुन्।