काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले मूलुकलाई निकास दिनका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनका लागि आफूहरु तयार भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्रको संस्कार बमोजिम निर्वाचनबाट जनताले आफ्नो अभिमत जाहेर गरेपछि कुनै न कुनै हिसाबले सरकार गठन गर्नुपर्ने भएकाले आफूहरु सरकारमा सहकार्यका लागि तयार भएको बताएका हुन् ।
‘सरकार कुनै न कुनै हिसाबले बन्नु पथ्र्यो । जनताको फैसला भन्दा ठूलो अरु केही छैन । मूलुकले निकास पाउनु पथ्र्यो । त्यो हिसाबले हामीले प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि मार्ग प्रशस्त गरेका हौं । हामी दोस्रो म्यानडेट पाएका पार्टी भएकाले सत्ता गठबन्धन टुटेपछि सहकार्यका लागि तयार भयौं,’ उनले भने ।
साथै, शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनको उद्धेश्य गलत भएकाले यसको परिणाम पनि गलत सावित भइसकेको उनले बताए । दुईतिहाइ बहुमतको दाबी गर्दै बनेको गठबन्धनले सामान्य बहुमत पनि ल्याउन नसक्नुलाई जनताले अस्विकार गरेको बुझ्नु पर्ने उनले दाबी गरे । मुलुकलाई निकास दिन र मुलुकलाई अनिर्णयको बन्दी बन्नबाट रोक्न आफूहरुले सरकारमा सहकार्य गरेको उनले बताए ।