Logo

‘सुन्तला खेती’ मा रमाउँदै गाउँपालिका उपाध्यक्ष



काठमाडौँ,१४ पुष । जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएका छन् ।

विसं २०५३ देखि सुन्तला खेती थाल्नुभएका उहाँले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएका छन् । म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गरेका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिए ।

विसं २०३५ मा नै कृषिको जेटिए अध्ययन गरेका उनि आठ वर्षसम्म शिक्षक पेसामा लागेका थिए । नेपाली कांग्रेसको नेतासमेत रहेका घिमिरे विसं २०४९ मा तत्कालीन गाविस अध्यक्षसमेत बनेका थिए । राजनीति र समाज सेवामा सक्रिय रहेका उनले विसं २०५३ देखि व्यावसायिकरूपमा सुन्तला खेती गरेको हो ।

“नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुँदैन कि भन्ने कुनै चिन्ता छैन”, उनले भने, “परिश्रम गर्न सके आत्मनिर्भर हुन कुनै समस्या छैन ।” हामीमा समस्या भनेको काममा विश्वास नहुनु हो । विदेशमा गर्ने दुःख नेपालमा गर्न सकिएमा केही गर्न सकिन्छ । ”, उपाध्यक्ष घिमिरेले भने ।

सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने मासिक पचासौँ हजार कमाउन विदेशिनु नपर्ने उनले बताए।

“सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, गर्वको महसुस हुन्छ । हरियाली र लटरम्म फलेका सुन्तला देखाउँदै उनले भने, “सुन्तला खेती गर्न गाह्रो पनि छैन, वर्षमा छ महिना जति हेरचाह गर्ने हो भने वर्ष दिनमा मनग्य आम्दानी लिन सकिन्छ ।”

सुरुको तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्छ, जब फल दिन थाल्छ, त्यसपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिने उनले बताए । फेरि सरकारले कृषिलाई विभिन्न अनुदानसमेत दिन थालेको छ । “बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, यसबाट सन्तुष्ट छु ”उनले भने । राजनीति र समाजसेवालाई सँगसँगै हाँकेका उपाध्यक्ष घिमिरेले उनले सुन्तला खेतीको साथै इँटाभट्टाको कारखानासमेत खोलेर सयौँलाई रोजगारी दिँदै आएका छन् । “हाम्रो देशको समस्या भनेको बेरोजगारी हो, रोजगारी सिर्जना राज्यको मात्र दायित्व हैन, व्यक्ति आफैँ अग्रसर बन्नुपर्छ”, उनले भने । रासस

 



प्रतिक्रिया दिनुहोस्