Logo

धमलाले मधेस प्रदेशको मुख्यमन्त्रीमा नाम लिएपछि जसपा नेताले भने– तपाईंको मुखमा घिउसक्कर जाओस्



काठमाडौं, १५ पुस । जनता समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद मनीषकुमार सुमनले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी स्वाभाविक भएको बताएका छन् ।
‘मधेस प्रदेशमा जसपा वर्तमान गठबन्धनको दोस्रो ठूलो घटक हो । त्यसैले मुख्यमन्त्रीमा हाम्रो दाबी स्वाभाविक छ । हाम्रो दाबी सात दलीय गठबन्धनको संयन्त्रमा राख्छौं । तीनचार प्रदेशमा एमालेको स्वाभाविक हक लाग्ने भएपछि बाँकी प्रदेशमध्ये एउटा जसपाले लिनु उचित हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।
मधेस प्रदेशको नेतृत्व जनमत पार्टीले लिने सहमति भइसकेको भन्नु बकम्फुसे हल्ला भएको आरोप पनि उनले लगाए । सुमनले भने, ‘त्यसमा कुनै सत्यता छैन । त्यो बकम्फुसे हल्ला हो । भरखर मात्र संयन्त्र बनेको छ । जनमतले दाबी गर्न पाउँछ । तर सहमति भएको छैन । पहिले १०७ सांसदको शपथग्रहण सकिन दिनुस् अनि कुरा गरौंला ।’
जसपाको मधेस प्रदेश संसदीय दलमा अहिलेसम्म कसैले दाबी नगरेको पनि उनले बताए । दलमा वर्तमान मुख्यमन्त्री लालबाबु राउत, सरोज यादव र तपाईंको नाम आएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, ‘अहिलेसम्म कसैले दाबी गरेको मेरो कानसम्म आएको छैन । कसैले कानेखुसी गरेको भए अर्कै कुरा हो । नेताहरुले संसदीय दलको नेताको इच्छा राख्नुभएको होला । तर अहिले अनुमान मात्र हुन् । तपाईंले मेरो नाम पनि लिनुभयो, तपाईंको मुखमा घिउसक्कर जाओस् । संसदीय दलको नेतामा मेरो दाबी स्वभाविक छ । पार्टीले जिम्मेवारी दिए खुट्टा कमाउने कुरा हुँदैन ।’
संघीय सरकारमा जसपाले यो वा त्यो मन्त्रालय वा यतिउति संख्या नतोकेको पनि सुमनले बताए । उनले भने, ‘अहिले यतिउति, यसरी उसरी भनेर माग फारम भर्ने अवस्था आएको छैन ।’ तपाईंहरु पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ६ महिनाभित्र संसदमा लैजाने तयारीमा हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘जसपाका तर्फबाट प्रतिनिधिसभामा उपेन्द्र यादव नहुनु एउटा क्षोभको कुरा हो । यसले प्रतिनिधिसभाकै सौन्दर्यमा दागजस्तो खड्किरहेको छ । उहाँ मधेस आन्दोलनको नायक हो । संघीयताको जननी हो । उहाँलाई प्रतिनिधिसभामा देख्न चाहने हामी थुप्रै छौं । तर यसबारे पार्टीको फोरममा वा बाहिर कुनै कुराकानी भएको छैन ।’

 



प्रतिक्रिया दिनुहोस्