Logo

बीपीले ‘मिलेर जाऊँ, मिलेर जाऊँ’ भन्नुभएको थियो तर देउवाले ‘मैं खाऊँ, मैं लाऊँ’ भन्ने दृष्टान्त प्रस्तुत गर्नुभयोः रामचन्द्र पौडेल



काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले बीपी कोइरालाको मेलमिलाप नीतिको सान्दर्भिकता अझै रहेको बताएका छन् ।
‘बीपीले घाँटी सुकाई सुकाई बोलेका कुरालाई हामीले अनुसरण गर्न सकेनौं । जीवन र व्यवहारमा घातप्रतिघात हुन्छन् । त्यस्ता कुरालाई बिर्सनुपर्छ । हिजो जे भयो, भयो अब मिलेर जाऊँ भन्ने नीति बीपीको थियो । राष्ट्रको बृहत्तर हितमा मेलमिलाप र एकता गर्नुपर्छ भन्ने बीपीको सन्देश अझ जरुरी भएको छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।

‘ओलीको अति भएपछि प्रचण्ड यतै आउँछन्’
बृहत् शान्ति सम्झौता पनि मेलमिलाप नीतिकै निरन्तरता भएको पनि उनले औंल्याए । पौडेलले भने, ‘अहिले प्रचण्डलाई समयको हुरीले कताकता पुर्याएको छ । प्रधानमन्त्री हुन कताकता जानुभयो । त्यता ठक्कर खाएपछि प्रचण्डजीलाई मेलमिलापको आवश्यकताबोध हुनेछ ।’
कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने पनि पौडेलले स्पष्ट पारे । उनले थपे, ‘कसैले भनेको थियो नि स्थायी भनेको स्वार्थ मात्र हो । स्वार्थ मिलेपछि एक ठाउँ भएका छन् । कम्युनिजम ल्याउँछौं भन्नेले मौका पाएका छन् । तिनले फलाक्ने गरेको मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रचण्डपथ, ओलीपथ लागू गरेर देखाऊन् न । कांग्रेसले अब प्रतिपक्षको भूमिका त गरिटोपल्ला नि । ओलीको अति भएपछि प्रचण्ड यतै आउँछन् ।ए

‘त्यत्रो जनमतलाई फ्याङल्याङ फालिदिनु मूर्खता थियो’
कांग्रेसको सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले गठबन्धन टुट्नुको जिम्मेवारी लिनुपर्ने पनि उनले बताए । पौडेलले भने, ‘बीपीले जस्तो मिलेर जाऊँ मिलेर जाऊँ भन्नु भन्दा मैं खाऊँ, मैं लाऊँ भन्ने दृष्टान्त शेरबहादुरजीले भर्खर प्रस्तुत भएको छ । उहाँले देशभरिका कांग्रेसको जिम्मेवारी लिनुपथ्र्यो । आफ्नो स्वार्थभन्दा लोकतन्त्रको स्वार्थलाई बढावा दिनुपर्थ्र्यो ।’
आफूले शेरबहादुर देउवालाई जिन्दगीभरि सहयोग मात्र गरेको उनले बताए । पौडेलले भने, ‘मैले कति सहयोग गर्ने हो ? सहयोगको चरम चुली हिमालचुलीमै पर्याएको हो । सबै कुराको वैकुण्ठसम्मै पुर्याएको हो । त्यत्रो जनमतलाई फ्याङल्याङ फालिदिनु मूर्खता थियो । मेरो आत्मघाती निर्णय वा ढिपीले कांग्रेसलाई केके क्षति भयो, भनेर उहाँले सोच्नुपर्छ ।’

‘साथीहरु आफू-आफू हिरो बन्ने धन्दामा लागे’
पार्टीको संस्थापन इतर पक्षले लोकरिझ्याइँका लागि मात्र बोल्ने गरेको आरोप पनि उनले लगाए । पौडेलले भने, ‘लोकरिझ्याइँका लागि बोल्नु एउटा कुरा हो । हामी यो पार्टीभित्र जवाफदेहिता ल्याउन सक्छौं कि सक्दैनौं ? यसमा कति गम्भीर छौं ? कति सुझबुझ राखेका छौं ? आफूआफू हिरो बन्ने भन्दा यो परिस्थिति बनाउन लाग्नुपर्छ । गठबन्धनको विकल्प के थियो ? कसलाई खुसी पार्नु थियो ? यो गठबन्धन कांग्रेसलाई जोगाउन मात्र होइन, लोकतन्त्र बचाउन पनि थियो । अहिले विशृंखलित भएको छ । अब यसको परिणाम देखिँदै जान्छ ।

‘सबै मिलेर मलाई अगाडि सारिदिएको भए हुन्थ्यो नि त’
वरिष्ठ नेता पौडेलले आफ्नो सहयोगले शेरबहादुर देउवा पार्टी सभापति नभएको दाबी पनि गरे । पौडेलले भने, ‘मैले शेरबहादुरजीलाई पार्टी सभापति बनाउन साथ दिएको होइन, उहाँबाट सभापति लिनुपर्छ भन्नेहरुले नै बन्ने त्यस्तो वातावरण बनाइदिए । अस्ति संसदीय दलमा सहयोग गरेर सुमार्गमा हिँडाउन सकिन्छ कि भने सोचेको थिएँ । त्यो पनि निरर्थक भयो, गलत साबित भयो ।’

‘बुझ्नेले कुरा नबुझेपछि मनमा पीर त पर्ने नै भयो’
संस्थापन इतर पक्षले आफूलाई बेवास्ता गरेको पनि पौडेलले बताए । उनले भने, ‘शेरबहादुरजी हुनुहुन्न भन्ने साथीहरुले लौ रामचन्द्रजी भइदिनोस् भनेनन् । वास्ताबेस्ता गरेनन् । सबै मिलेर मलाई अगाडि सारिदिएको भए हुन्थ्यो नि त । सम्भावना नभएको कुरामा वितण्डा मच्चाएर कहाँ हुन्छ ? कसैलाई साथ दिने नदिने कुरा होइन, म विवेकको कुरा बोल्छु । म पदलोलुप भएर दगुरेको होइन, मलाई सत्ताभन्दा व्यवस्था प्रिय छ । बुझ्नेले कुरा नबुझेपछि मनमा पीर त पर्ने नै भयो ।’



प्रतिक्रिया दिनुहोस्