Logo

सरकारमा सहभागितावारे एकीकृत समाजवादी अनिर्णीत



काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे कुनै निर्णय गर्न सकेन ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार र आइतबार गरी दुई दिनसम्म स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने कि नहुनेबारे व्यापक विमर्श र छलफल भए पनि सो सम्बन्धमा कुनै निर्णय लिन नसकेको हो । सरकारमा सहभागी हुने वा नहुने भन्नेमा स्थायी कमिटीका सदस्यले मिश्रित सुझाव दिएकाले सोमबार बस्ने पोलिटब्युरो बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेमा निर्णय हुने बताइएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबार बस्ने पोलिटब्युरो बैठकबाट सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय हुने बताए । उनले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणबारे छलफल भएको बताए ।

प्रवक्ता खतिवडाले बैठकले पार्टी निर्माण, सुदृढीकरण र विस्तारबारे छलफल गरेको पनि जनाए । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेन्डाका साथ देशव्यापी अभियान अगाडि बढाउन नेताहरूलाई निर्देशन दिएका छन् । राजधानी दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्