Logo

भीम रावललाई धमलाको प्रश्न– तपाईं नेकपा (एकीकृत समाजवादी) मा जान लाग्नुभएको हो ?



काठमाडौं, १८ पुस । नेकपा एमालेका नेता भीम रावलले पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारलाई आँखा चिम्लेर प्रशंसा वा विरोध नगर्ने बताएका छन् ।
‘प्रचण्ड प्रधानमन्त्री हुँदा व्यक्तिगत रुपमा म खुसी वा दुःखी हुने प्रसंग छैन । जुनसुकै व्यक्ति प्रधानमन्त्री भए पनि आँखा चिम्लेर प्रशंसा वा विरोध गरिँदैन । चार जना मन्त्री भए तर सिंहदरबारमा गएका छैनन् । यसले देशका नागरिकलाई बिझाउँछ । तत्काल मन्त्रालय दिन सक्ने स्थिति छैन भने किन मन्त्री बनाएको ? यसले सरकारले सुशासन दिन्छ कि दिँदैन भन्ने संकेत दिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले भने ।
सुशासनको चर्का नारा मत माग्ने तर मन्त्रालय फुटाएर पद र सुविधा खुवाउने कुरा गर्न नमिल्ने उनको तर्क छ । रावलले थपे, ‘अब २०५२ पछिको सत्तास्वार्थको निन्तरता हुन्छ । पद र सुविधा मात्र बढाउन लाग्ने हो भने यस्तो विविध दलको मिश्रणको सरकारले देशलाई कता लान्छ ? २० खर्ब त देशको ऋण भैसक्यो । मन्त्रालय घटाउन नसके पनि अहिलेकै अवस्थामा चलाए पनि काफी हुन्छ ।’
चीनका कार्यवाहक राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई (बेल्ट रोड एन्ड एसिसिएटिभ) अन्तरगतको परियोजना भनेकामा तपाईंको प्रतिक्रिया के छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट रोड एन्ड एसिसिएटिभको परियोजना हो कि होइन, सरकारले बोल्नुपर्छ । मैले विस्तृत अध्ययन त गर्न पाएको छैन । तर ७५ प्रतिशतमा ब्याज नलिने र २५ प्रतिशत कम ब्याजमा भन्ने सुनेको हुँ । सन् २०१७ मा प्रचण्ड प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता गर्नुभएको हो । यो सम्झौता उहाँ मात्र होइन, कांग्रेसले पनि गरेको हो । प्रकाशशरण महत परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । त्यत्तिकै आलोचना गर्ने कुरा आउँदैन । देशलाई आत्मनिर्भर बनाउने परियोजना हो भने त्यो गलत होइन ।’
तपाईं नेकपा (एकीकृत समाजवादी) मा जान लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा रावलले भने, ‘माधव नेपालसँग मेरो कुनै संवाद भएको छैन । निर्वाचनअघि तपाईंले चाहेको क्षेत्रबाट लड्नुस् भन्नुभएको हो, मैले धन्यवाद भनें । एमालेका साथीहरुले माधव नेपाललाई भेटेकै छन् । भीम रावलले समाजवादीका साथीहरुसँग कुरै गर्नुहुन्न भन्ने छैन । समाजवादीमा जाने भनेर होइन कि समसायिक विषयमा उहाँहरुसँग कुराकानी गर्न सकिन्छ । अहिले मात्र होइन, भविष्यमा पनि कुरा गर्न सक्छु । म अहिले नेकपा एमालेकै सदस्य छु ।’



प्रतिक्रिया दिनुहोस्