Logo

कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिमाथि कारबाहीको माग



काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको माग गर्दै जिल्लाले पठाएको सिफारिस पत्र केन्द्रीय समितिमा पुगेको छ ।

निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, गणेश लामा, आङगेलु शेर्पा तथा जिल्ला सभापतिहरू नाम्गले जाङ्बु शेर्पा र अब्दुल कलामलाई जिल्लाले कारबाहीको सिफारिस गरेको हो ।

चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएकोमा हालसम्म तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको सिफारिस भईआएको केन्द्रीय अनुशासन आयोगले जनाएको छ । केन्द्रीय कार्यालयले शुरूमा पुस १५ सम्मको समय दिएको थियो ।

केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षबाहेकका जिल्लामा सक्रिय अन्य कार्यकर्ताहरूलाई समेत धमाधम कारबाहीको सिफरिस भइरहेको छ । पुस १५ सम्ममा काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको थियो ।

कांग्रेस काभ्रे जिल्ला कार्य समितिले दुई जना केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको जनाएको छ । मधु आचार्यले प्रतिनिधि सभामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका शिव हुमागाईंलाई हराउन भूमिका खेलेको आरोप छ ।

त्यस्तै, गणेश लामाले जिल्ला सभापति तीर्थ लामालाई प्रदेश सभा सदस्यमा हराउन लागेको आरोपसहित कारबाहीको सिफारिस गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्