Logo

आफ्ना लागि आफैँ उत्पादनमा



डुम्रे, १७ पुस । देशका अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी (बृद्धाश्रम) तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित यस वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् ।

विगतमा घरमा रहँदाको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग गरी तरकारी र दूध उत्पादन गर्दै आएको महासङ्घ जिल्ला कार्यसमितिका अध्यक्ष तारानाथ घिमिरेले बताए । “यहाँ आश्रित ज्येष्ठ नागरिक आफैँले बारीमा खनेर तरकारी लगाउने गरेका छौँ । हामीले रासायनिक मल प्रयोग गर्दैनौँ । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी उत्पादन गर्छौं”, घिमिरेले भने ।

आश्रममा बस्दै आएका काम गर्न सक्ने सबैले सकेको काम गरेर प्राङ्गारिक उत्पादन खाने गरेका उनि बताउछन् । यहाँका ज्येष्ठ नागरिकले बाहिरबाट सहयोगका लागि आएको खाद्यान्न, तेल, नुन, चिनीलगायत अत्यावश्यक सामग्री प्राप्त हुने गर्दछ ।

आफैँले बारीमा उत्पादन गरेको खानेकुरा धेरै मीठो हुने गरेको यहाँ आश्रित ज्येष्ठ नागरिक बताउँछन् । “हामी तरकारी र दूधमा आत्मनिर्भर छौँ । रासयनिक मलको सट्टा गाईको मल प्रयोग गरेर आफैँ खटिएर तरकारी लगाउँछौँ । तरकारी किन्नुपर्ने बाध्यता छैन”, संस्थाका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाट भन्छन् ।

अहिले बारीमा हिउँदे तरकारी प्रशस्त रहेको छ । आश्रमको स्वामित्वमा नै रहेको एक रोपनी जग्गामा खेतीपाती गर्दै आएको रानाभाट बताउछन् । “यहाँ उत्पादित तरकारीले आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई पुग्छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । चैत, वैशाखका लागि नयाँ तरकारीको बिरुवा रोपिएको छ । अब लहरे तरकारीको याममा रोप्नका लागि टनेल तयारी अवस्थामा रहेको छ”, उनि बताउछन् ।

यहाँ पालिएको गाईको गोबर, गहँुतको प्रयोग गरी तरकारी उत्पादन गरिएको अध्यक्ष घिमिरे बताउछन् । आश्रमको करेसाबारीमा काउली, बन्दा, भन्टा, कागती, धनियाँ, मूला, साग, ब्रोकाउलीलगायतका तरकारी प्रशस्त मात्रा फलेका छन् । तरकारीकै घाँस र कुडोले यहाँका गाई पालिएका छन् ।

आश्रममा कहिले पनि दुहुनो गाई टुट्दैन । यहाँका गाई पालनले आश्रममा आउने सहयोगदाता, भेटघाटका लागि आउने पाहुनालाई जुनसुकै समय दूध खुवाउन सकिने उनि बताउछन् । आश्रममा हाल पाँचवटा गाई छन् ।

एउटै फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन
म्याग्दे
गाँउपालिका–६ धैरेनीमा नौ वर्षअघि देखि अमृत थापा र गुरुप्रसाद पौडेलद्वारा सञ्चालित लेयर्स पोल्टी फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुने गरेको छ । थापा र पौडेलले रु छ करोड बढीको लगानी त्रिदेव पोल्टी फार्म सञ्चालनमा ल्याएको हो ।

यस फार्मका १९ हजार लेयर्स कुखुराबाट उक्त परिमाणको अण्डा उत्पादन हुँदै आएको थापाले जानकारी दिए । फार्मबाट १९ हजार लेयर्स कुखुराले दैनिक १५ हजार उत्पादन आएको उनले बताए । उनका अनुसार फार्ममा नौ जनाको परिवारलाई रोजगारी दिएका छन् ।

व्यवसाय सञ्चालन गर्दा मासिक रु ३५ लाख खर्च हुने थापाले बताए । “कुखुराका लागि दैनिक कम्तीमा रु एक लाख २० हजार खर्च हुन्छ । आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गरेको छु”, थापाले भने । थापाले ५३ रोपनी क्षेत्रफलको जग्गामा छवटा कुखुरा फार्म राखेर व्यवसाय गर्दै आएका छन् । “फार्ममा सबैभन्दा ठूलो समस्या भनेको ढुवानी भएको छ । चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद गरिए पनि फार्मसम्म आउने बाटो राम्रो नहुँदा ढुवानीमा अधिक खर्च हुन्छ”, उनले भने ।

पोखरा, काठमाडौँ र चितवनसम्म यहाँको अण्डा निर्यात हुने गरेको छ । “स्थानीय बजारमा यहाँ उत्पादित अण्डा थेग्न सक्दैन । उत्पादन गर्न सके अण्डा निर्यात र बिक्रीमा कुनै समस्या छैन”, थापाले भने । लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुँदा अब चल्ला उत्पादन र अण्डा उत्पादनमा सम्पूर्ण ज्ञान पाइसकेकाले कुखुरालाई हुने समस्या समाधान आफैँले गर्दै आएको उनले बताए ।

अविनाश हाइलाइन नेपाल चितवनबाट चल्ला ल्याउने तयारीमा रहेको उनले बताए। “चल्ला हुर्काउन अत्यन्त जोखिम हुन्छ । निश्चित तापक्रम दिनुपर्दछ । यसका लागि धेरै खट्नुपर्दछ । अथक मिहेनत र परिश्रम भए तापनि यो व्यवसायमा सन्तुष्ट छु”, थापाले भने ।

फार्ममा भएको कूल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिँदै आएको छ । दिनमा १५ हजार अण्डा उत्पादन हुने हुँदा अण्डा खरिदका लागि जिल्ला बाहिरबाट व्यापारी आँउछन् । बिक्रीका लागि बजार छैन भनेर भौँतारिनुपर्ने अवस्था छैन”, उनले भने । व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै । त्योभन्दा बढी आफूलाई आत्मसन्तुष्टि मिलेको थापाको भनाइ छ । रासस

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्