Logo

जो कसैसँग एकता, सहकार्य र गठबन्धन हुन सक्छः जसपा नेता



काठमाडौं, २० पुस । जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले आफ्नो पार्टीले सरकारमा जान खुट्टा नउचालेको बताएका छन् ।
‘भरखरै हाम्रो पार्टीको राजनीतिक समितिमा सरकारमा सहभागिताबारे बृहत् छलफल भएको छ । साझा न्यूनतम कार्यक्रम निर्माणमा हाम्रो पार्टीका तर्फबाट केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेमजोङ जानुभएको छ । कार्यक्रममा हाम्रा एजेन्डा कसरी समावेश हुन्छन्, त्यस आधारमा छलफल गरेर सरकारमा जाने वा नजाने निर्णय हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
पार्टीले भागबन्डामा कुनै सर्त नराखेको पनि उनले दाबी गरे । यादवले भने, ‘साझा न्यूनतम कार्यक्रम चित्तबुझ्दो आयो भने ससर्त सम्मानजनक रुपमा सरकारमा जाने हो । आएन भने नजाने हो । गठबन्धनसँग उपप्रधानमन्त्री र कति मन्त्रालय भन्ने छलफल त्यसपछि मात्र हुन्छ ।’
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग तपाईंहरुको पार्टी एकीकरण हुन लागेको हो भन्ने प्रश्नमा यादवले भने, ‘राजनीतिक समितिको बैठकले एकता, सहकार्य र गठबन्धनलाई खुला गरेको छ । तर कम्युनिस्टहरु मिलिरहेका छन् भन्ने कुरामा हाम्रो सरोकार रहेन । तर नीति, विचार र कार्यक्रम मिल्ने विभिन्न व्यक्ति, राजनीतिक दल र संगठनसँग एकता, सहकार्य र गठबन्धन गर्न कुनै आपत्ति छैन ।’

बीआरआईका विषयमा तत्काल टिप्पणी नगर्ने पनि उनले औंल्याए । यादवले भने, ‘मुलुक र जनताको हित अनि समृद्धिका लागि हुने कुनै पनि काममा हाम्रो समर्थन रहन्छ ।’



प्रतिक्रिया दिनुहोस्