Logo

पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिँदैन: माओवादी नेता



काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायणप्रसाद दाहालले सातआठवटा पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेकाले केही कुरामा कम्प्रोमाइज गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
‘अहिलेको जनमत नै त्यस्तै छ । सातआठ पार्टीमा नभई नबन्ने भयो । तर प्रचण्ड प्रधानमन्त्री बन्लान्, कांग्रेस सरकारबाट आउट होला, एमाले र माओवादी मिल्लान् भन्ने कसले सोचेको थियो र ? तर हामीले उधुमै गरेर देखायौ त,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहालले भने । सत्ता गठबन्धनका अधिकांश पार्टी सरकारमा सामेल भइसकेको र जनता समाजवादी पार्टी अनि नेकपा (एकीकृत समाजवादी) छलफलमा रहेको पनि उनले बताए ।
दाहालले संघीयता र धर्मनिरपेक्षता गुम्ने स्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जस्तोसुकै कुर्बानी गर्न तयार रहेको दाबी पनि गरे । उनले थपे, ‘जनताले राप्रपा र स्वतन्त्रलाई विश्वास गरेर जिताइदिए । अब हामीले होइन भन्न मिलेन । संघीयताविरोधी र राजतन्त्र फर्काउने एजेन्डा जो कसैको हुन सक्छ । तर कसैले एजेन्डा राख्दैमा हुन्छ र ? हाम्रो अध्यक्ष कमरेड यी उपलब्धिमा आँच आउन थाल्यो भने कुनै किसिमको कुर्बानी गरेर यो सिस्टम बचाउन आउनुहुन्छ ।’
गठबन्धनका कतिपय दलको संघीयताविरोधी र राजतन्त्र फर्काउने एजेन्डा भए पनि तिनीहरु सफल नहुने उनको जिकिर छ । दाहालले भने, ‘पहिले कमल थापा उपप्रधानमन्त्री भएका होइनन् ? जसले जे चाहे पनि केही पनि फर्कंदैन अहिले । तर जनताले राजतन्त्र नै चाहिन्छ भने तपाईंले स्टुडियोमा कराएर पनि भएन, मैले मञ्चमा उफ्रेर पनि भएन । राष्ट्रिय समस्या हल गर्न सबैको साथ लिएर हिँड्ने खुबी प्रचण्डसँग छ । कसैले रिस गरेर भएन क्यारे । प्रचण्डमाथि आशंका गर्नु जरुरी छैन ।’
पृथ्वीनारायण शाहको बखान गर्ने वा नगर्नेमा माओवादी केन्द्र नअल्झिने पनि दाहालले स्पष्ट पारे । उनले थपे, ‘हामी गणतन्त्रवादी र संघीयता पक्षधर हौं । जसले जे पनि भने नेपालको राजनीति हामी नभई नहुने भैसक्यो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने वा नदिने विषयमा बोल्न म गृहमन्त्री होइन । तर मलाई जहाँसम्म लाग्छ, सरकारले बिदा दिँदैन ।’
सरकारले मन्त्रालय फुटाउने कुरामा सत्यता नभएको पनि उनले दाबी गरे । साथै दाहालले प्रदेश र केन्द्र सरकार चुस्त-दुरुस्त हुनुपर्ने पनि बताए । बीआरआईसँग सम्झौता हुनुअगाडि नै पोखरा अन्तर्राष्ट्रिय विनास्थल निर्माण भएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्