Logo

जसपा नेतालाई धमलाको प्रश्न- अशोक राईले पार्टी फुटाउन लाग्नुभएको हो ?



काठमाडौं, २१ पुस । जनता समाजवादी पार्टीका नेता रकम चेमजोङले संविधानलाई सकेसम्म सर्वग्राह्य बनाउने, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशितालाई सुदृढ गर्दै लाने गरी सरकारको न्यूनतम साझा कार्यक्रम आउनुपर्ने बताएका छन् ।
‘न्यूनतम साझा कार्यक्रम निर्माणको प्रक्रियामा छ । संविधानलाई सकेसम्म सर्वग्राह्य बनाउने, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशितालाई सुदृढ गर्दै लाने कुरा नै यसमा अटाउनु पर्छ । अन्यथा संविधानका आधारभूत पक्षभन्दा पछाडि फर्कने कुरा त ग्राह्य हुन सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चेमजोङले भने ।
सत्ता गठबन्धनका नेताहरुले आआफ्नो अडान प्रस्तुत गर्ने हो भने न्यूनतम साझा कार्यक्रम नै नबन्ने चेतावनी पनि उनले दिए । चेमजोङले भने, ‘यो सरकार जसपा, रास्वपा वा राप्रपाको एकल सरकार होइन । त्यसैले दलहरुको आआफ्ना एजेन्डा छँदाछँदै पनि त्यसभित्र साझा कार्यक्रम निर्माण गर्न सकिन्छ । तर हामीले अगाडि जान सरकार बनाउने हो, पछाडि फर्कन होइन । आआफ्नो अडान प्रस्तुत गर्ने हो भने न्यूनतम साझा कार्यक्रम पनि बन्दैन, संविधानले देखाएको बाटोमा नहिँडे गठबन्धन पाँच वर्ष टिक्दा पनि टिक्दैन ।’ न्यूनतम साझा कार्यक्रम घोषणाको मिति तोक्न नसकिने पनि उनले बताए ।
जसपा नेता चेमजोङले न्यूनतम साझा कार्यक्रममा सहमति भयो र सम्मानजनक देखिने गरी राज्यशक्तिको बाँडफाँट भयो भने जसपा सरकारमा जान सक्ने पनि औंल्याए । राज्यशक्तिको बाँडफाँटको अर्थ भने उनले खुलाएनन् । उनले भने, ‘ठ्याक्र्याक्कै यही भन्ने छैन ।’
पार्टीको राजनीतिक समितिले विभिन्न पार्टीसँग एकता र सहकार्यका निम्ति वार्ता कार्यदल बनाएको पनि उनले बताए । उनले भने, ‘एकता आजको आवश्यकता हो । साना-साना पार्टीभन्दा पनि शक्ति निर्माण गर्नु उचित हो । हामी नेकपा (एकीकृत समाजवादी) लगायत हामीसँग विचार मिल्ने दलहरुसँग छलफल गर्छौं । एकताको सम्भावना छ र त हामीले कार्यदल बनायौं । पार्टी एकीकरण हुनै सक्दैन भन्ने हो भने त समिति नै बन्ने थिएन नि ।’
अशोक राईले पार्टी फुटाउने डरले एकीकृत समाजवादीसँग एकता गर्न लागिएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अशोकजीले किन पार्टी फुटाउने र ? पार्टीभित्र असन्तुष्टि त हुन्छ । उपेन्द्रजीलाई पनि साथीहरुको असहयोगले हारें भन्ने होला । अशोकजीले त्यसो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्