Logo

प्रधानमन्त्री दाहालले कांग्रेससँग पनि विश्वासको मत माग्ने



काठमाडौं, २१ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । त्यसको लागि उनले सत्ता गठबन्धनका दलका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा र पहलकदमीमा नै दाहाल नेपालको ४४औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमा कांग्रेस गठबन्धनमा रहेका दाहाल नयाँ सरकार गठनसम्म आईपुग्दा भने एमाले गठबन्धनमा सामेल भएका छन् । प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि कांग्रेस नेताहरुले भने उनले आफूहरुलाई धोका दिएको निश्कर्ष निकालेका छन् ।

तर, प्रधानमन्त्री दाहालले भने २६ पुषमा संसद्मा विश्वासको मत लिँदा नेपाली कांग्रेसको पनि समर्थन खोज्ने भएका छन् । प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतकाअनुसार उनले आज÷भोलि नै कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत दिन आग्रह गर्ने भएका छन् । आजमात्रै देउवासँग जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्