एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले देशको उत्तरी भागमा तेल खानीका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ।
तालिबान सरकारले २५ वर्षका लागि यो सम्झौता गरेको हो। चीनले यसलाई दुवै देशका लागि महत्त्वपूर्ण परियोजना भनेको छ। यो ठेक्का पाएपछि यस क्षेत्रमा चीनको आर्थिक गतिविधि बढ्न सक्ने विश्वास गरिएको छ ।
सन् २०२१ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि विदेशी कम्पनीसँग यो पहिलो ठूलो तेल खानी सम्झौता हो। अफगानिस्तानको तालिबान सरकारलाई अहिलेसम्म विश्वको कुनै पनि सरकारले मान्यता दिएको छैन।
तालिबान अधिकारीहरूले भनेका छन् कि सुरक्षा बलहरूले इस्लामिक स्टेट समूहका चरमपन्थीहरूलाई निशाना बनाएका छन् जसले चिनियाँ व्यापारीहरूले प्रयोग गर्ने होटेलमा आक्रमण गरेका थिए।
आक्रमणमा आठ इस्लामिक स्टेट लडाकू मारिए र धेरैलाई गिरफ्तार गरिएको थियो।
गत डिसेम्बरमा काबुलको लोङ्गन होटलमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए। घाइते हुनेमा पाँच चिनियाँ नागरिक रहेका थिए।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘सिनजियाङ सेन्ट्रल एसिया पेट्रोलियम एण्ड ग्यास कम्पनीले तेल खानी सम्झौताको एक भागको रूपमा अमु दर्या बेसिनमा ड्रिल गर्नेछ।’