Logo

लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज दाबी पेस गरिँदै



काठमाडौ, पुस २६ । सत्ता साझेदार दलहरूले लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज बहुमतसहितको दाबी पेस गर्ने भएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि बुधवारसम्मको समयसीमा दिएका थिए तर उक्त समय सीमाभन्दा एक दिन अगाडि नै दलहरूले दाबी पेस गर्न लागेका हुन् ।

यहि सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्ता पक्षीय गठबन्धनका नेताहरूको बैठकले मङ्गलवार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले आजै साँझसम्ममा लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री लीला गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने सम्भावना छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ सिट छन् । नागरिक उन्मुक्तिसँग ४ सिट र स्वतन्त्र २ जना सांसद छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्