Logo

प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालको प्रश्न– ‘संविधानप्रतिको प्रतिवद्धता छ कि छैन ?’



काठमाडौं, २६ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संविधानप्रतिको प्रतिवद्धता छ कि छैन ? भनी प्रश्न गरेका छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति तर्फ लक्षित गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।

आफू नेतृत्वको पार्टीले यो सरकारलाई विश्वासको मत दिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले संसद विघटनको बाटोमा जान नहुने उनले बताए । ‘ख्याल गर्नुपर्ने कुरा एउटा छ, संविधानप्रतिको प्रतिवद्धता छ कि छैन ? शंका गर्नुपर्ने आशंका गर्नुपर्ने कुरा त्यहाँ छ । किन भने यही रोस्टममा मैले सुने कि संसद विघटन गर्न पाइन्छ । यो मान्यता गठबन्धन दलको हो ? यदि यो मान्यता गठबन्धन दलको हो भने खतरनाक संक्रेत दिन्छ,’ उनले भने ।

सरकार बनाउने विकल्प रहुन्जेल कसैलाई पनि संसद विघटनको छुट नभएको नेता नेपालले बताए । संसद विघटन प्रतिगामी कदम नै भएको उनको जिकिर छ । ‘अर्को सरकार बनाउने विकल्प हुन्जेल कसैको लहडको भरमा संसद विघटन गर्न पाइँदैन । संसद विघटन गलत थियो, त्यो प्रतिगामी कदम नै हो। महसुस त हुनुपर्यो महसुस छैन,’ उनले भने ।

साथै, नेपालको अर्थतन्त्रको ड्राइभिङ इन्जिनका रुपमा पर्यटन र जलविद्युत रहेकाले त्यसको विकासका निम्ति सरकारले आवश्यक कदम चाल्नु पर्ने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्