काठमाडौं, २९ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आफूमाथि प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्ने चुनौती भएको बताएका छन् ।
‘अनावश्यक मन्त्रालय बढाएर मुलुकमाथि व्ययभार थपिएको भन्दै प्रदेश सरकारको संसान्दर्भिकतामाथि प्रश्न खडा भएका छन् । अब हामीले संघीयता नजिकको सरकार हो भनेर प्रदेशको औचित्य पुष्टि गर्नु जरुरी छ । म अघिल्ला सरकारका राम्रा कामलाई निरन्तरता दिने र त्यसमा नवीनता थप्ने प्रयासमा छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री अधिकारीले भने ।
संघीयताको सिद्धान्त व्यवहारमा लागू गर्न सक्दा जनतालाई राहत दिन सकिने उनको विश्वास छ । अधिकारीले भने, ‘सुशासन, मितव्ययिता, पारदर्शिताका चुनौती छन् । पूर्वपश्चिम स्तरीय सडक बनाउने, व्यापार व्यवसायबाट रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेकाले पर्यटनको विकास गर्ने आदि काम छन् । म दलको सीमित घेराभन्दा माथि उठेर काम गर्छु । सफलताको सिँढी नउक्लिई धरै छैन ।’
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफूलाई विश्वासको मत दिने आशा पनि अधिकारीले व्यक्त गरे । उनले थपे, ‘कांग्रेसले विश्वासको मत दिए ठीकै छ, दिन नसके पनि म सबैसँग सहकार्य गर्न तयार छु ।’ साथै उनले विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डल विस्तार गर्ने बताए । उनले भने, ‘सबै सांसदलाई मन्त्री बनाउन सकिँदैन । साथीहरुले यसको सीमा बुझ्नुहुन्छ । अहिले चार जना छौं, केही संख्या थपेर समावेशी मन्त्रीमण्डल विस्तार गर्छु ।’ मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे गण्डकी प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री अधिकारीले आफू स्टन्टबाजीमा नउत्रिने पनि दाबी गरे । उनले भने, ‘गण्डकी प्रदेशको विकासमा मुख्यमन्त्री नमुना कृषि कार्यक्रमले केही न केही योगदान गरेकै छ । होम स्टे, उज्यालो गण्डकी प्रदेश, एक प्रदेश, एक धारा लगायतका कार्यक्रमले किसान समुदायलाई मूलधारमा ल्याएको छ । काम गर्ने आआफ्नो शैली हुन्छ । म स्टन्टबाजी गर्दिनँ, गुणस्तरीय कार्यक्रम गर्छु ।’