Logo

चिकित्सक संघको निर्वाचनमा स्वतन्त्रको पल्ला भारी, सात दशकपछि नेतृत्व पुस्तान्तरणको चर्चा



काठमाडौं, पुस २९ । नेपाल चिकित्सक संघको आगामी पाँच वर्षे नयाँ नेतृत्व चयनका लागि यहि माघमा निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै अहिले उम्मेदवारहरू स्वास्थ्य क्षेत्रमा सुधारका एजेन्डा बोकेर चुनाव प्रचारप्रसारमा व्यस्त छन् ।

उपत्यकामा माघ ६ र ७ गते तथा उपत्यकाबाहिर माघ १९, २० र २१ गते हुने संघको निर्वाचनका लागि अध्यक्षदेखि सदस्यसम्म ४१ जनाले उम्मेदवारी दिएका छन् । संघको निर्वाचनको इतिहासमा पहिलो पटक स्वतन्त्र समूहको उम्मेदवारी परेकाले यसपालिको संघको चुनाव विगत भन्दा चर्चामा छ ।

नयाँ कार्यकालको नेतृत्वका लागि अध्यक्षमा ३ जनाको दाबेदारी रहेको छ । कांग्रेसनिकट प्रजातान्त्रिक प्यानलबाट डा. अनिल कार्की, एमालेनिकट पेशागत (प्रगतिशील) समावेशी समूहबाट डा. सन्तोष पौडेल र स्वतन्त्रबाट मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दै छन् ।

स्थापनाकालदेखि सात दशकको यात्रा पुरा गरिसेको संघको निर्वाचनमा पार्टीगत भन्दा यसपटक स्वतन्त्रका उम्मेदवार हावी देखिएका छन् । लगातार सात दशकदेखि राजनितिक थलो बन्दै आएको संघ यसपटक स्वतन्त्रको उम्मेदवारीले अन्य प्यानलको टाउको दुखाईको विषय बन्न पुगेको छ ।

विगतको निर्वाचनमा कांग्रेस, एमाले निकट प्यानलले जित हासिल गर्दै आएपनि दलभन्दा पेशा माथि भन्ने नारासहित निर्वाचनमा होमिएको स्वतन्त्रको चुनौतीको सामना गर्न अन्य प्यानलहरुलाई यसपटक हम्मेहम्मे परेको देखिन्छ ।

स्वतन्त्र समूहको उम्मेदवारीले पुस्तान्तरणसहितको रुपान्तरणमा जोड दिएको छ । १६ वटा एजेन्डासहित अघि सरेका अध्यक्षका प्रत्यासी डा सिलवालको पक्षमा ५० प्रतिशत भन्दा बढी युवा डाक्टरको सर्मथन रहेको छ ।

हाल देश दौडाहामा रहेका डा. सिलवाले भने, ‘स्वतन्त्रको उम्मेवारीले अन्य प्यानलको नट, बोल्ट ढिलो भईसकेको छ । देशभरका १३ हजार आठ सय सद्श्य रहेको संघमा ५० प्रतिशत भन्दा बढी युवा चिकित्सकहरु स्वतन्त्रको सर्मथनमा देखिएका छन् ।’

आफ्ना एजेन्डाहरुप्रति युवा जोस र जाँगर एकमत देखिएकाले जित शुनिश्चित रहेको दाबी गर्दै उनले स्वतन्त्र समुहले दलभन्दा माथि हुनुपर्ने तर्कसहित एमडीरएमएस अध्ययनका लागि १ वर्ष कार्य अनुभव हटाउने, लोकसेवा आयोगमार्फत स्थायी दरबन्दीको संख्या बढाउन दबाब दिनेलगायत एजेन्डामा युवाहरुको पूर्ण सर्मथन पाएको बताए ।
चिकित्सक संघ त बुद्धिजीवीको संस्था रहेको बताउँदै उनले एमाले र कांग्रेसको हातमाबाट संघलाई स्वतन्त्र बनाउने जिम्मेवारीसहित यस अभियानमा होमिएको बताए ।

स्वतन्त्र समूहले महत्त्वाकांक्षी योजना भन्दा चिकित्सक परिवार कल्याणकारिणी कोषलाई प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी अस्पताल खोल्न पहल गर्ने, चिकित्सकहरुको सुरक्षा, तलब, सीप विकास र रोजगारीका लागि पहल गर्ने, मेडिकल अफिसरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाका लागि पहल गर्नेलगायत एजेन्डाहरु समेटेको डा. सिलवालले बताए ।

डाक्टरको हितका लागि स्वतन्त्रका उम्मेदवारी रहेको रहेको उनको दाबी छ । यसअघिका नेतृत्वले संघमा रहदा एकलौटी चलेको, डाक्टरको हितमा काम नगरेको र पदमा दोहोरिन मात्र चाहेको भन्दै नेतृत्व परिवर्तनको आवाज बनेर स्वतन्त्र उम्मेदवार अघि बढिसकेको उनले बताए।

संघको नेतृत्व परिवर्तन गरि नयाँलाई अवसर दिनुपर्ने आवाज यसअघि पनि पटक–पटक उठिसकेकाले चिकित्सकहरुको हकहित र अधिकार स्थापित गरि महत्वपूर्ण भुमिका खेल्न स्वतन्त्र समूह सक्षम रहेकाले नै अगाडि आएको उनको भनाई छ।



प्रतिक्रिया दिनुहोस्