काठमाडौं, ३० पुस । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले विश्वासको मत दिइसकेपछि पार्टी सरकारमा जानु उपयुक्त हुने बताएका छन् ।
‘सरकारमा जाने बारेमा प्रधानमन्त्रीसँग धेरै छलफल पनि भएको छैन । यो–यो मन्त्रालय लिनुस् भन्ने खबर पनि आएको छैन । मेरो व्यक्तिगत विचार चाहिँ सरकारलाई समर्थन गर्नुपर्छ, विश्वासको मत पनि दिनुपर्छ, मुलुक र जनताका निम्ति काम गर्ने वातावरण बनाउन सरकारमा जानुपर्छ भन्ने थियो । राष्ट्रिय परिस्थिति नयाँ ढंगले विकास भएकाले सरकारमा जाँदा बेठिक चाहिँ हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
मुलुकलाई निकास दिन सबै दललाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोच्नुपर्ने पनि उनले औंल्याए । पाण्डेले भने, ‘अहिले म देखाइदिन्छु, फलानो दललाई भित्तोमा पुर्याइदिन्छु भन्ने परिस्थिति छैन । त्यसैले सरकारको नेतृत्व गर्ने दल वा नेताले मुलुकलाई निकास दिने गरी नयाँ शिराबाट सोच्नुपर्छ ।’
जनता समाजवादी पार्टी (जसपा) सँग पार्टी एकताको कुरा नभई मोर्चाजस्तो तयारी भएको पनि उनले बताए । नेता पाण्डेले नेकपा (एकीकृत समाजवादी) को संख्या अनुसार संघ र प्रदेश सरकारमा भूमिका दिनका लागि ओली र प्रचण्ड गम्भीर हुनुपर्नेमा जोड दिए ।