Logo

मनास्लुमा बीस वर्षपछि हिउँदे आरोहण



काठमाडौं, माघ १ । दुई दशकपछि यस वर्षको हिउँदे सिजनमा मनास्लुमा पहिलो आरोहण भएको छ । उच्च हिमाल आरोहण गर्न चुनौतीपूर्ण मानिने यस सिजनमा एक जना स्पेनिस नागरिकसहित छ जना शेर्पा आरोहीको समूहले सन् १९९८ पछि पहिलो पटक मनासलु आरोहण गरेका हुन् ।

४१ वर्षीय एलेक्स टेक्सिनको नेतृत्वमा गएको आरोही समूहले अघिल्लो शुक्रबार बिहान मनासलु चुचुरो टेकेका थिए । सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएको उक्त टोलीमा ४० वर्षीय छेपाल शेर्पा, ४४ वर्षीय ग्यालु शेर्पा, ३५ वर्षीय तेन्जेन शेर्पा, ३२ वर्षीय पासाङनर्ब‘ शेर्पा, ३४ वर्षीय मिङतेम्बा शेर्पा र २२ वर्षीय पेम्बाटासी शेर्पा रहेको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका आरोहण शाखा निर्देशक युवराज खतिवडाले सन् १९९८ को डिसेम्बरमा दक्षिण कोरियाली समूहले आरोहण गरेयता हिउँदे मौसममा मनासलु आरोहण हुन नसकेको बताए । उनले भने, “हिउँदे मौसममा मनासलु आरोहण गर्न हरेक वर्ष आरोहीले अनुमति लिँदै आए पनि प्रतिकूल मौसमका कारण आरोहण पूरा गर्न सकेका थिएनन् ।”

विभागबाट हिउँदे मौसममा विभिन्न हिमाल आरोहण गर्न बिहीबारसम्म पाँच समूहका १५ जनाले अनुमति लिएका छन् । विभागको आरोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार मनासलुमा पहिलो आरोहण पूरा भए पनि चोयु र धौलागिरि आरोहणका लागि क्याम्प–३ पुगेको टोली प्रतिकूल मौसमका कारण आरोहण रोकेर फर्किएको छ ।

उनले भने, “हिउँदे सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले यो वर्ष गत वर्षभन्दा राम्रो सोधपुछ आइरहेको छ । सोहीअनुसार पर्वतारोहणले गति लिने अपेक्षा गरिएको छ ।”

हिउँदे पर्वतारोहणतर्फ अहिलेसम्म चो ओयु, धौलागिरि, मनासलु, अमादब्लम र चुकिमा गो हिमाल आरोहण गर्न अनुमति लिएको उनले जानकारी दिए । आरोहण अनुमति लिनेमध्ये १२ जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरूबाट सरकारले छ लाख ५५ हजार ६३२ रुपैयाँ रोयल्टी सङ्कलन गरेकोे छ ।

यस वर्षको शरद ऋतुमा पनि मनासलुमा मुख्य आकर्षण देखिएको थियो । शरद ऋतुमा मनासलु आरोेहणका लागि ५४ समूहका ४८४ जनाले अनुमति लिएका थिए । उक्त समयमा मनासलु आरोहण गर्न १२० महिला र ३६४ जना पुरुषले अनुमति लिएका थिए । मनासलुबाट मात्रै शरद ऋतुमा सरकारलाई चार करोड ६२ लाख ९१ हजार ५७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।



प्रतिक्रिया दिनुहोस्