Logo

थारु समुदायमा माघीको महिमा



—रुक्मिणी चौधरी, पूर्व सांसद 
थारू समुदायले मनाउने प्रमुख चाड हो, माघी । आज थारु समुदायको नयाँ वर्ष पनि हो । त्यसैले हाँसीखुसी यो पर्व मनाइरहेका छौं । माघीको बिहान सबै जना नजिकैको खोलानाला, तालतलैयामा नुहाउन जाने चलन छ । नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने चलन छ । यसको थालनी घरबाट हुन्छ । गाउँभरि नै गएर सेवाढोग वा सेवा सलाम लिईदिई खानपिनमा रमाइन्छ ।
माघीमा चेलीबेटीहरूलाई दाल, चामल, नुन, घिउ, तरकारी पैसा लगायत उपहार (निसराउ) दिने चलन छ । माइती आएका छोरीचेलीले घर फर्किने बेला त्यो उपहार लिएर जान्छन् । माघीको भोलिपल्ट खिचडी बनाई खाने दिन हो । यसलाई खिचरहवा भन्ने चलन छ ।
कसैसँग रिसइबी छ भने माघी नुहाएर एकआपसमा अंकमाल गरी मेलमिलाप गरिन्छ । वर्षदिनमा भएका गल्ती कमजोरीमा क्षमा गरिदेऊ भनेर आफन्ती वा मान्यजनसँग क्षमाढोग मागिन्छ ।
माघीको माहोल पुस मसान्तबाटै सुरु हुन्छ । घरघरमा माछामासु, ढिकरी (पिठोको परिकार) माछा लगायतको परिकार खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गरिन्छ । माघीको गीतलाई धमार र नाचलाई मघौटा भन्ने चलन छ ।
पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता हुन्छ र माघ १ देखि नयाँ हिसाबकिताब सुरु हुन्छ । माघीमा नै आगामी वर्षका लागि खेतीपातीलगायत घरव्यवहारको नवीकरण हुन्छ । माघीमै एक ठाउँमा बसेर खानपिन गर्दै कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने आदि घरसल्लाह हुन्छ । माघीमा नै गाउँका भद्रभलाद्मीको रोहवरमा दाजुभाइबीच अशंबण्डा गरिन्छ ।
माघको पहिलो हप्ताभित्रै गाउँको अगुवाको घरमा बैठक बस्छ । अगुवालाई ठाउँअनुसार बरघर, भल्मन्सा, महटाँवा, ककनदार आदि भन्ने चलन छ । बैठकले बरघर सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ । यो ज्यादै लोकतान्त्रिक छ ।
२०५९ मा सरकारले माघीमा सार्वजनिक बिदा दिन थालेपछि थुप्रै ठाउँमा थारू संस्कृति झल्किने महोत्सव हुँदै आएका छन् । राजधानीको टुँडिखेलमा यसपालि पनि माघी महोत्सव चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्