काठमाडौं, १ माघ । आज पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ३ जना बच्चा, ३ जना बृद्ध र चालकदलका ४ जनासहित ७२ जना यात्रु सवार रहेका थिए।
काठमाडौंबाट पोखराका लागि उडेको ९ एन-एसीएनसी विमान बिहान साढे १० बजे उडेको थियोभने अवतरण गर्ने क्रममा करिब ११ बजेर १० मिनेट जाँदा पोखरा विमानस्थल नजिक फेवा खोँचमा दुर्घटना भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ। स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन्। विमान क्याप्टेन कमल केसीले उडाएका थिए।
यतिका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा १० जना विदेशी यात्रु पनि सवार रहेका थिए।
हाल उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको छ।