Logo

आज दिनभरिमा बाँकी शव निकालिसक्छौंः कास्की प्रजिअ



काठमाडौं, २ माघ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले यती समूहको दुर्घटनाग्रस्त एटीआर७२ जहाजको एउटा टुक्रा सेतीको गहिरो गल्छीमा फसेकाले उद्धारकार्य सम्पन्न हुन नसकेको बताएका छन् ।
‘हामीले हिजो दुर्घटनालगत्तै तीनवटै सुरक्षा निकाय परिचालन गरेका थियौं । अहिलेसम्म ६६ वटा शव पाएका छौं, ६३ वटा शव संकलन गरेर
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेका छौं । बाँकी ६ जनाको शव भेट्टाउन सकेका छैनौं । जहाज तीन टुक्रा भएर खस्दा एउटा टुक्रा जटिल खोचमा गएर बसेकाले बाँकीलाई पनि जीवित अवस्थामा पाउने अवस्था कमजोर छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ केसीले भने ।
पहिचान भएका शवलाई आवश्यक प्रक्रिया पूरा गरेर आज बिहान नौ बजेदेखि आफन्त वा परिवारलाई बुझाइने पनि उनले बताए । प्रजिअ केसीले भने, ‘हामीले हिजो सबै काम गर्न सकेनौं । राति पनि उज्यालोको व्यवस्था गरेर काम गरेका थियौं । सम्पूर्ण शवको खोजी कार्य जारी छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालित छन् । आज दिनभरि नलाग्न सक्छ ।’
पहिचान नभएका, जहाजका कर्मचारी र विदेशीहरुको शव काठमाडौं पठाउने पनि केसीले जानकारी दिए । उनले थपे, ‘यो अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण घटना हो । शोक सन्तप्त परिवार भावविह्वल अवस्थामा हुनुहुन्छ । पोखरा एरियाका मृतकका आफन्तजन पोखरामा हुनुहुन्छ । काठमाडौंमा भएका परिवारलाई दुःख नहोस् भनेर उतै पठाउने व्यवस्था गर्छौं ।’
जहाज दुर्घटना के कारणले दुर्घटना भएको हो भन्ने कुरा प्राविधिक भएकाले आफूले भन्न नसक्ने पनि केसीले औंल्याए । उनले भने, ‘पाइलटले पूर्वबाट नभएर पश्चिमबाट अवतरण गर्न खोज्दा जहाज ढाइ तीनसय मिटर तल खसेको छ । केही सेकेन्ड अगाडि दुर्घटना भएको भए बस्तीमा धेरै क्षति हुन सक्थ्यो । पाइलटले बस्ती जोगाउन धेरै प्रयास गरेको देखिन्छ ।’



प्रतिक्रिया दिनुहोस्