काठमाडौं, माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रालयसमेत तोकेका छन् ।
सत्तारूढ गठबन्धन बैठकले मंगलबार राति मन्त्रालय भागबन्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तार गरिएको हो । तर, सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारमा गएको छैन ।
सरकारलाई समर्थन गरेको जनमत पार्टीका मन्त्री भने ‘आफूले भनेजस्तै मन्त्रालय नपाएको’ भन्दै कार्यभार सम्हाल्न मन्त्रालय नै गएका छैनन् ।
नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिए । यसअघि नियुक्त केही मन्त्री विनाविभागीय हैसियतमा थिए ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमालें), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिफारिसमा मन्त्री नियुक्त भएकाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्रिपरिषद्मा नेकपा एमालेबाट आठ, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार, राप्रपाबाट चार र जनमत पार्टीबाट एक जना छन् ।
उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० र मन्त्रीको तलब ७२ हजार ७३० रुपैयाँ रहेको छ।