काठमाडौं, माघ ४ । आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो ।
विभागले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा भने अत्यन्त न्यून हो । पुसमा कुल एक खर्ब छ अर्ब ९८ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा त्यसको ६६.५ प्रतिशत मात्र राजस्व उठेको हो । यद्यपि विभागले भने विषम अवस्थाका बीच पनि ७१ अर्ब रुपियाँ राजस्व उठ्नु सुखद भएको जनाएको छ ।
विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले अर्थतन्त्रका बाह्य सूचक नकारात्मक रहेको, आयात प्रतिबन्ध भएको र आर्थिक गतिविधि सुस्ताएको अवस्थामा पनि विभागले धेरै प्रयास गरेर राजस्व सङ्कलन गरेको बताए ।
“कठिन अवस्थामा पनि विभागले अत्यन्त मेहनत गरेर अघिल्लो पुसभन्दा धेरै नै राजस्व उठेको छ,” उनले भने । अघिल्लो आवको पुसमा विभागले ७० अर्ब ८० करोड रुपैयाँ राजस्व उठाएको थियो । यस हिसाबले चालू आवको पुसमा करिब एक अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको देखिन्छ ।
समग्रमा हेर्दा लक्ष्यको तुलनामा पुसको राजस्व सङ्कलन कम देखिए पनि त्यसलाई परिस्थितिअनुसार हेर्नुपर्ने प्रवक्ता प्याकुरेलको भनाइ छ । “लक्ष्यअनुसारको राजस्व नउठे पनि मुलुकको विषम परिस्थितिअनुसार विश्लेषण गर्दा सङ्कलित राजस्व कम होइन,” उनले भने ।
मुलुकको सङ्घीय सञ्चित कोष नै यतिबेला घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ । पुस मसान्तसम्म समग्रमा सरकारको आम्दानीको तुलनामा खर्च ८१ अर्ब रुपैयाँले बढी छ । विभागले भने आन्तरिकतर्फ पुससम्म लक्ष्यको तुलनामा ७८.८२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।
पुससम्म विभागले दुई खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा दुई खर्ब २१ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन् गत पुसको तुलनामा तीन अर्ब ६१ करोड रुपयाँले न्यून हो । गोरखापत्र दैनिकबाट