Logo

५ वर्षमा साढे २ अर्बको अम्रिसो निर्यात



काठमाडौं, माघ ४ । नेपालबाट पछिल्लो ५ वर्षमा साढे २ अर्ब रुपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । मुख्य गरी कुचो बनाउन प्रयोग हुने अम्रिसो नेपालबाट भारत, बंगलादेशलगायत एशियाली देशमा निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा नेपालले २१ करोड ३० लाख रुपैयाँ बराबरको ४२ लाख ६५ हजार किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको छ ।

गत आवको सोही अवधिमा नेपालले १९ करोड २० लाख रुपैयाँ बराबरको ३८ लाख ९२ हजार किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको थियो । चालू आवमा गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले निर्यात बढेको छ ।

अम्रिसो नेपालको मध्य तथा पूर्वी भेगमा बढी मात्रामा पाइन्छ । ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा कृषकको आम्दानीको मुख्य स्रोतमध्ये अम्रिसो पनि एक हो । नेपालमा उत्पादित कुचो देशका विभिन्न शहरका अतिरिक्त भारत र बंगलादेशमा समेत निकासी हुँदै आएको छ ।

अहिले अम्रिसो प्रतिकिलो मूल्य १ सय ५० देखि २ सय रुपैयाँसम्म पर्छ । १ किलो अम्रिसोले २ ओटासम्म कुचो बनाउन सकिन्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्