Logo

सभामुख-उपसभामुखमध्ये एउटा र राष्ट्रपति पद कांग्रेसको प्राथमिकता होः डा. महत



काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले सभामुख र उपसभामुखमध्ये एउटा र राष्ट्रपति पदमा आफ्नो पार्टीको प्राथमिकता रहेको बताएका छन् ।
‘आज हाम्रो पार्टीको पदाधिकारी बैठक छ । अन्य दलहरुसँग के कस्तो कुराकानी भएको छ, बैठकमा थाहा हुन्छ । हामी साझा दृष्टिकोण र राजनीतिक आधारमा चल्न चाहन्छौं । राष्ट्रपति र सभामुखले दलगत सवालभन्दा माथि उठेर साझा दृष्टिकोणका साथ काम गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख र उपसभामुखमध्ये कम्तीमा एउटा र राष्ट्रपति पद हाम्रो प्राथमिकता हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने ।
राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भूमिका महत्त्वपूर्ण हुने पनि उनले औंल्याए । डा. महतले भने, ‘हामी विपक्षमा छौं, सरकारमा छैनौं । केपी ओलीले पहिलो बैठकमा संसद् विघटनको कुरा गरेपछि हामीले संविधानको रक्षाका लागि बाध्य भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौं । केपी ओलीजीसँग हामीले आशा गरेका छैनौं । प्रधानमन्त्री साझा सोचका साथ जाने हुनुभयो भने हाम्रो राजनीतिक कोर्स स्वतः निर्धारण हुन्छ । बनेन भने हामी आफ्नो बाटो तय गर्छौं ।’
कांग्रेस अरु दलजस्तो बढीभन्दा बढी पद लिने रस्साकस्सीमा नरहेको पनि उनले औंल्याए । डा. महतले भने, ‘हामी गुण र दोषका आधारमा सरकारलाई हेरिरहेका छौं । हामी तमासाबाजीमा विश्वास गर्दैनौं । फेसबुके राजनीति, टिकटकमा स्टन्ट गर्ने काम हामी गर्दैनौं । अहिलेसम्म सरकारले ठोस काम देखाउने संकेत देखिएको छैन ।’



प्रतिक्रिया दिनुहोस्