Logo

माओवादीले मलाई धोका दिन सक्दैनः देवराज घिमिरे



काठमाडौं, ५ माघ । नेकपा एमालेका तर्फबाट सभामुख पदका उम्मेदवार देवराज घिमिरेले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।
‘मेरो उम्मेदवारीमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलको समर्थन छ । यसमा जसपाले साथ दिँदैन भन्ने पनि छैन । हामी अहिले पनि गठबन्धनमा सँगै रहेका छौं । साथ नरहनुपर्ने कुनै कुरा छैन । त्यसकारण मेरो विजय सुनिश्चित छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै घिमिरेले भने ।
नेकपा (माओवादी केन्द्र) ले तपाईंलाई साथ देला भन्ने प्रश्नमा उनले थपे, ‘संसदीय प्रणालीमा दलको भूमिका हुन्छ । दलीय निर्णय अनुसार नेकपा माओवादी केन्द्रलाई मलाई मतदान गर्नुपर्छ । धोकाधडी दलीय संस्कार होइन । हामीले विगतमा विसंगतिपूर्ण व्यवहार बेहोरेर आएका छौं । संसदीय व्यवस्थामा दलीय निर्णय र अनुशासनका आधारमा चल्नुको विकल्प छैन ।’
एमाले नेता घिमिरेले आफू सभामुख भएपछि सदनका नियम, कानुन र नियमावलीका आधारमा अघि बढाउने पनि  स्पष्ट पारे । उनले भने, ‘सभामुखको जे भूमिका हो, म त्यही गर्छु ।’
पार्टीमा वरिष्ठ नेताहरु हुँदाहुँदै केपी ओलीको विश्वासपात्र भएकाले तपाईंलाई सभामुखमा रोजिएको होइन भन्ने प्रश्नमा घिमिरेले भने, ‘तपाईंले नाम लिएका पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा लगायत थुप्रै नेताहरु स्वाभाविक आकांक्षी हुनुहुन्थ्यो । म पार्टीको जिम्मेवार, वफादार र इमानदार कार्यकर्ता हुँ । त्यसैले नेतृत्वको निकटता र दूरता बाहिरबाट हेर्दा देखिने कुरा हो । तर सबै नेताहरुको सल्लाह, छलफलको निष्कर्षको आधारमा म उम्मेदवार बनेको हुँ ।’ झापाली भएकाले मात्र आफू उम्मेदवार नबनेको पनि उनले दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्