काठमाडौं, ५ माघ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
‘मैले कृषि तथा पशुपन्छी मन्त्रालय सम्हालेको तीन दिन मात्र भयो । म स्वयं किसानको छोरी हुँ । मलाई आम किसानका मर्म र पीडा थाहा छ । मेरो मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु हो,’ रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा बोल्दै मन्त्री साहले भनिन् ।
कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिइन् । साथै साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको पनि बताइन् ।
आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पुर्याएको पनि उनले बताइन् । मन्त्री साहले थपिन्, ‘हामीले उखु ढुवानीको मूल्य प्रतिक्विन्टल २० रुपियाँ मूल्यवृद्धि गरेका छौं । किसानहरुले समयमै उखुको मूल्य पाउने गरी काम गर्न आवश्यक निर्देशन दिइसकेकी छु ।’
दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने पनि मन्त्री साहले औंल्याइन् । उनले थपिन्, ‘नेपालमा २५ मेट्रिक टन दूध उत्पादन हुन्छ । तर त्यसलाई हामीले सही तरिकाले राख्न सकेका छैनौं । हामी दूधबाट दूध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गछौं । हामीले निर्यात गरेका छुर्पीलगायत वस्तु तेब्बर महँगो मूल्यमा फेरि खरिद गर्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ ।’
कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहले बताइन् । उनले भनिन्, ‘आम किसानको समस्या पीडादायी छ । खर्च अनुसार उब्जनी छैन । प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र छ । त्यसैले आम किसान निराश छन् । अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउनुपर्छ ।’
वर्षेनी आठ लाख अब माटो परीक्षण गरी ब्लक छुट्याएर मात्र कृषिमा लगानी गर्नुपर्ने उनको भनाइ छ । साहले भनिन्, ‘वर्षेनी आठ लाख युवा बाहिर गइरहेका छन् । अब स्वदेशमै रोजगारी सिर्जना हुने गरी काम गर्न सरकार लागिरहेको छ ।’ साथै उनले अहिलेका चुनौती सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याइन् ।