Logo

कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हो, देउवा नै प्रमुख प्रतिपक्षी दलको नेताः रमेश लेखक



काठमाडौं, ५ माघ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सभामुखमा उम्मेदवारीले आफ्नो पार्टी प्रतिपक्षी भूमिका रहेको पुष्टि गरेको बताएका छन् ।
‘सरकारलाई विश्वासको मत दिँदैमा प्रमुख प्रतिपक्षमा कायम रहँदैन भन्नु संकुचित व्याख्या हो । यसले संसदीय अभ्यास र संसदीय प्रणाली ठीक ठाउँमा पुर्‍याउँदैन । सरकारको पक्षमा विपक्षी दलले कहिल्यै मतदान गर्दैन भन्ने कस्तो बुझाइ हो ? प्रमुख विपक्षी दलको भूमिका भनेको हमेसा सरकारको विरोध मात्र गर्ने, झम्टिइहाल्ने वा हरेक बहिष्कार गर्ने मात्र होइन । गुण र दोषका आधारमा सरकारका बारेमा टिप्पणी गर्ने हो । अहिलेको स्थितिमा कांग्रेस नै विपक्षी दल हो, शेरबहादुर देउवा नै प्रमुख प्रतिपक्षी दलको नेता हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लेखकले भने ।
नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष हो कि होइन भनेर संविधानको पाना पल्टाएर दुःख नगर्न पनि उनले आग्रह गरे । लेखकले थपे, ‘कानुनको नौसिङ हुन्छ भन्छन्, आआफ्नो व्याख्या विश्लेषण होला । तर राष्ट्रपतिकहाँ सरकारको गठन प्रक्रिया थाल्दा हामीले हस्ताक्षर बुझाएका छैनौं । सरकारमा पनि सहभागी छैनौं । प्रतिनिधिसभामा विपक्षी बेन्च हुन्छ । हामी प्रतिपक्षमै बसेका छौं । पक्ष र विपक्ष राजनीतिक कुरा हो, यसलाई संविधानले निर्देशित गर्न सक्दैन । यसमा संविधानका पाना पल्टाएर दुःख गर्नु आवश्यक छैन ।’
प्रमुख सचेतक लेखकले सभामुखको उम्मेदवारीले पनि कांग्रेस विपक्षी दल भएको पुष्टि भएको बताए । उनले भने, ‘सभामुख अत्यन्त निष्ठा, पारदर्शिता र तटस्थता चाहिने पद हो । कुन पार्टी वा कसको सांसदभन्दा पनि साझा व्यक्तित्व हो । अहिले हामीले जित्नकै लागि उम्मेदवारी दिएको हो । हामीले सबैसँग मत माग्छौं प्रतिनिधिसभाको निर्णय स्वीकार गर्छौं ।’
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे थोरै विरोधाभास भएको पनि उनले औंल्याए । लेखकले भने, ‘राष्ट्रपतिको निर्वाचन आउन एक-डेढ महिना समय छ । अहिले त्यसको चर्चा नगरौं । तर संविधान र ऐन कार्यकालका बारेमा बाझिएका छन् । संविधानअनुसार निर्वाचन मितिदेखि नै कार्यकाल गणना हुन्छ वा हुँदैन ? ऐनअनुसार एक महिना पहिले नै निर्वाचन गर्दा एक महिना घट्ने अवस्था पनि छ । तर संविधानको संरक्षक र सबै जनताले मेरो राष्ट्रप्रमुख हो भन्ने अवस्था सिर्जना हुनु जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस्