काठमाडौं, ५ माघ । जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको जनमत पार्टी मन्त्रालय राम्रो नपाएको भन्दै सरकारबाट बाहिरिने तयारीमा जुटेको हो ।
जनमतबाट उपाध्यक्ष तथा सांसद अब्दुल खान खानेपानीमन्त्री बनेका थिए । तर, जनमतले उद्योग वा कृषिमध्ये एक मन्त्रालय मागेको थियो । रोजेको मन्त्रालय नपाएपछि अहिले जनमत प्रधानमन्त्री दाहालसँग असन्तुष्ट छ । राउतले हिजै शासक वर्गसँग नश्लीय सोच रहेको भन्दै मधेशी, थारुलगायतले आफ्नो संघर्ष जारी राख्ने अभिव्यक्ति दिएका थिए ।
राउतले सरकार छाडेर सडकमा जाने बताइसकेका छन् । राउतले आफ्नो दलबाट मन्त्री बनेका खानलाई राजीनामा दिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । खानले हिजै प्रधानमन्त्री दाहालसँग भेटेर आफ्नो असन्तुष्टि सुनाएका थिए । जनमतले खानेपानी मन्त्रालयमा चित्त बुझाउनुपर्ने हो भने अर्को एक मन्त्रालय पनि पाउनुपर्ने अडान राखेका छन् । file photo