काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले एमालेबाट सांसद्मा निर्वाचित लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।
‘अहिले सभामुखको निर्वाचन हुँदैछ। आज सभामुखको निर्वाचन हुनेबेलामा यस संसद्मा हत्याको अभियोग लागेका सांसद्पनि यही हलभित्र छन् भन्ने सुनिन आएको छ। म गृहमन्त्री ज्यूलाई अनुरोध गर्न चाहान्छु।’ उनले भने, ‘हामी चिन्दैनौ उहाँलाई यहाँभित्र हुनुहुन्छ कि हुनुहुन्न। यदि हुनुहु्न्छभने उहाँको मतदान प्रकियामा भागलिन पाउने नपाउने त्यो निर्णय गरेर मात्र यस सभा संचालन गरियोस्।’
सांसद् महतो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन्।
२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो। त्यसयता उनी फरारको सूचीमा छन्।
सभामुख चयनका लागि आज प्रतिनिधि सभाको बैठक बसिरहेको छ। सभामुखका लागि सत्ता गठबन्धनबाट देवराज घिमिरे उम्मेद्वार रहेका छन् भने कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेद्वार रहेका छन्।