Logo

आजको ‘लक्की सेभेन’ भोलि ‘अनलक्की सेभेन’ हुन सक्छः जगन्नाथ खतिवडा



काठमाडौं, ६ माघ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने क्रममा सभामुख पदमा मिलेर उम्मेदवारी दिएको स्पष्टीकरण दिएका छन् ।
‘कांग्रेस र हामीले प्रतिपक्षी भूमिका निर्वाह गर्नका लागि सल्लाह गरेर सभामुखमा आफ्नो उम्मेदवार उठायौं । संसदको गणितका कारण सफल भएनौं । तर राष्ट्रपति निर्वाचनमा हामी सफल हुने आधारहरु छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
एउटै दलको प्रधानमन्त्री, सभामुख र राष्ट्रपति हुँदा कति स्वेच्छाचारिता बढ्छ भन्ने दृष्टान्त केपी शर्मा ओलीको पालामा देखिएको उनले औंल्याए । खतिवडाले भने, ‘हिजो केपी ओली र राष्ट्रपति मिलेर के के गरे ? हामी सबैलाई थाहै छ । त्यसैले चेक एन्ड ब्यालेन्सका लागि राष्ट्रपति, प्रधानमन्त्री  र सभामुख अलग-अलग दलको हुनुपर्छ भन्ने हाम्रो धारणा छ । जनप्रतिनिधिले त्यस्तो कच्चा काम अवश्य नगर्लान् । उनीहरुले विवेकको मत प्रयोग गर्न सक्छन् ।’
आफ्नो पार्टीले राष्ट्रपतिमा दाबी गरिनसकेको पनि प्रवक्ता खतिवडाले स्पष्ट पारे । उनले भने, ‘भर्खर सभामुखको निर्वाचन सकियो । भोलि उपसभामुखको निर्वाचन छ । राष्ट्रपतिका बारेमा टुंगो भइसकेको छैन । माधव नेपाल पनि हुन सक्नुहुन्छ, कांग्रेसबाट पनि हुन सक्छ । हाम्रो पार्टीले दाबी गर्ने गरी छलफल भएको छैन । तर सभामुखको निर्वाचन प्रारम्भिक सहकार्यको बिन्दु हो । विश्वासको मतले एकठाउँमा ल्यायो, अहिले सत्तापक्ष र विपक्षको भेद छुट्याइदियो ।’
सातदलीय सत्ता गठबन्धन धेरै समय नटिक्ने संकेत पनि उनले गरे । खतिवडाले भने, ‘यो सरकार जन्मँदैदेखि विकृत रुप देखिँदै आएको छ । सुशासनमा गम्भीर चुनौती छ । अहिलेसम्म सातदलीय गठबन्धन लक्की सेभेन छ, भोलि अनलक्की सेभेन पनि हुन सक्छ ।’



प्रतिक्रिया दिनुहोस्