Logo

इन्दिरा राना उपसभामुख पदको उमेदवार



काठमाडौं, माघ ६। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा राना प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवार बन्ने भएकी छन् ।

पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकबाट रानालाई उपसभामुखको उमेदवार बनाउने निर्णय गरिएको छ । उपसभामुखको उम्मेदवारका रूपमा पार्टीकी सांसद सोबिता गौतम प्रस्ताववक रहेकी छन् ।

रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा राना मगर लगायत सांसदहरु आकांक्षी थिए ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुँदै छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको उपसभामुखको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उपसभामुख निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता गराउने कार्यतालिका छ । संघीय संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्र ल्होत्से हलमा दर्ता गराउनुपर्नेछ ।

आज अपरान्ह सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुने छ भने भोली माघ ७ गते शनिबार दिनको १ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ ।

सभामुखमा भने विहिबार नै एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्ने संवैधानिक बाध्यताका कारण अब उपसभामुखमा महिला नै हुनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्