काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका छन्।
उनले २८५९ औं तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौं टुँडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका हुन्।
उनले भने, ‘ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो। यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम ल्होछार पनि भन्छन्।’
यस्तै प्रधानमन्त्री प्रचण्डले यो पर्व तामाङ जातीको मात्र नभइ राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वपनि भएको बताए। उनले भने, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यस्ता ऐतिहासिक एंव वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व छन्। तर, विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरू लोप भएर जाँदैछन्। मानव सभ्यता मर्दैछ। अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ। यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’
तस्बिर : मुकुन्द कालिकोटे