Logo

सेतो हात्ती बन्दै चोभार सुक्खा बन्दरगाह



काठमाडौं, माघ ९ । सञ्चालनमा आएको झन्डै १ वर्षपछि पनि काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह प्रयोगमा नआएपछि सेतो हात्ती बन्ने खतरा बढेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आएयताको अवधिमा ७७ ओटा कन्टेनर भित्रिएका छन् । यहाँबाट तीनओटा कन्टेनर मात्र बाहिरिएको अभिलेख छ ।

तीन वर्ष लगाएर डेढ अर्ब रुपैयाँभन्दा बढी लागतमा तयार गरिएको चोभार सुक्खा बन्दरगाह गत चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । बन्दरगाह २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ । यो बन्दरगाहमा एकपटकमा ५ सयओटा कन्टेनर पार्किङ गर्न मिल्छ ।

देशको सबैभन्दा ठूलो शहर काठमाडौंमा सामान आयात र यहाँबाट निर्यात सहज बनाउने साथै वीरगञ्ज, भैरहवालगायत भन्सारमा जाम कम गर्ने उद्देश्यले चोभारमा यति ठूलो सुक्खा बन्दरगाह निर्माण गरिएको हो । तर, बन्दरगाह सञ्चालनमा देखिएको शुरुआती निराशासँगै पूर्वाधार खेर जाने चिन्ता बढेको छ ।

बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बन्दरगाह सोचेअनुसार चल्न नसकेको बताउँछन् । ‘सुक्खा बन्दरगाहबाट नजिक पर्ने काठमाडौं–निजगढ फास्ट ट्र्याक नबन्दा सञ्चालनमा समस्या भएको छ,’ उनले भने, ‘निजीक्षेत्रको सहयोग पनि खासै छैन । सरकारले पनि बाध्यकारी व्यवस्था गरेको छैन ।’

सरकारले उपत्यकाभित्र आउने निश्चित सामग्रीलाई समय तोकेर चोभार सुक्खा बन्दरगाहबाटै ल्याउने व्यवस्था गरेको खण्डमा सहज हुने कार्यकारी निर्देशक गजुरेलको भनाइ छ । नेपालमा सबैभन्दा बढी सामान भित्रिने वीरगञ्ज नाकाबाट प्रवेश गरेका अधिकांश सामान काठमाडौं उपत्यकामा आउने गर्छ ।

अहिले काठमाडौं भित्रिने कन्टेनरले प्रयोग गर्ने थानकोटको बाटोबाट बल्खु हुँदै चोभार जान र आउन ८/१० किलोमीटर बढी पर्छ । यो बाटोको बन्दरगाहनजिकको भाग साँघुरो पनि छ । यसरी बाटो बढी खर्चिलो र असहज भएको कारण चोभार सुक्खा बन्दरगाहमा आउन कन्टेनरहरूले आनाकानी गरिरहेका छन् ।

चोभार आउने कन्टेनरले वीरगञ्ज भन्सार र चोभार भन्सारमा गरेर दुईपटक प्रक्रिया पूरा गर्दा कठिनाइ झेल्नुपरेको व्यवसायी बताउँछन् । साथै भन्सार विभागले जीपीएस सिस्टममा चर्को जरीवाना तोकेको पनि उनीहरूको गुनासो छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्