काठमाडौं, ९ माघ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष हुन नसक्ने दाबी गरेका छन् ।
‘अहिले प्रमुख प्रतिपक्षी दल को हो भन्ने प्रश्न कानुन र संविधानसँग जोडिएर आएको छ । यो कुरा न शेरबहादुर देउवाले भनेर हुन्छ, न मैले भनेर हुन्छ । कानुनी शासन भएको मुलुकमा सरकारलाई समर्थन गर्ने दल प्रतिपक्ष हुँदैन । यो कानुन कांग्रेसलगायतका दलहरुको सर्वसम्मतिमै बनेको हो । न्यूनतम साझा कार्यक्रममा आधारमा सरकारलाई विश्वासको मत दिने पनि प्रतिपक्षी दल हुन्छ कहीं दुनियाँमा ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने हो भने अविलम्ब विश्वासको मत फिर्ता लिई क्षमायाचना गर्नुपर्ने पनि वरिष्ठ अधिवक्ता भट्टराईले औंल्याए । उनले भने, ‘कानुन हेर्दा सरकारलाई समर्थन नगरेको प्रतिनिधिसभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा त्योभन्दा बढी सदस्य भएको दलको नेता नै प्रमुख प्रतिपक्षी दलको नेता हुन्छ । त्यो पनि भएन भने सभामुखले तोकिदिएको व्यक्ति नै प्रतिपक्षी दलको नेता हुन्छ । कानुनी, राजनीतिक र नैतिक आधारमा कांग्रेस प्रतिपक्ष दल हुन मिल्दैन । तसर्थ कांग्रेसले अविलम्ब सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर हामीले जानेनछौं, गल्ती भयो भनेर नतासँग क्षमायाचना गर्नुपर्छ । होइन भने मन्त्रिपरिषद्मा सामेल हुनपर्छ ।’
कांग्रेसले सरकारलाई समर्थन दिएर राष्ट्रपतिमा हिस्सेदारी खोज्न प्रचण्डसँग हिमचिम बढाइरहेको आरोप पनि उनले लगाए । भट्टराईले भने, ‘कांग्रेसले बीपी, गणेशमान, कृष्णप्रसादको विरासत बिर्सेर प्रतिपक्षी दलको सेवा सुविधा पाऊँ भनेर निवेदन दिनु लाजमर्दो कुरा हो । कि चनावअघिको गठबन्धन जोगाएर सरकार बनाउनुपर्थ्र्यो । त्यो नभए प्रमुख विपक्षमा बस्नुपर्थ्र्यो । गलत नीति र नेतृत्वका कारण उसको टिठलाग्दो अवस्था आएको छ ।’
राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्दा प्रचण्ड झन् अविश्वसनीय बन्ने र जनतामा मुख देखाउन नसक्ने पनि भट्टराईले बताए । उनले भने, ‘नयाँ सरकार बनेको ३० दिन पनि भएको छैन । यो अवस्थामा अस्थिरता उत्पन्न हुने गरेर कुरा गर्नु हुँदैन । यसले अहिलको व्यवस्थामाथि नै आशंका बढ्छ ।’
साथै उनले गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा संवेदनशील हुन पनि आग्रह गरे । भट्टराईले थपे, ‘अहिलेको मुद्दा गृहमन्त्रीको मुद्दा होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको मुद्दा पनि होइन । बिलकुल रवि लामिछानेको मुद्दा हो । रवि नेपाली नागरिक हो कि होइन भन्ने मुद्दा हो । यसमा संवेदनशील हुनैपर्छ ।’